
टेलिभिजन रियालिटी सो 'बिग बोस १२'को आज ग्रान्ड फिनाले हुँदैछ। १५ हप्ताको सम्म आइपुग्दा बिग बोस १२ को ट्रफीका लागि पाँचजनाले प्रतिस्पर्धा गर्दैछन। दीपिका कक्कर, श्रिशान्त, रोमिल चौधरी, दीपक ठाकुर र करणवीर बोहरामध्ये एकले नै ट्रफी र ५० लाख नगद उपहार जित्नेछन्।
दर्शकको भोटको आधारमा विजेता घोषणा गरिनेछ। पहिलो सिजनमा विजेतालाई १ करोड नगद उपहार राखिएको थियो। सिजन १२ मा विजेताका लागि नगद उपहार ४३ लाख मात्र थियो। तर प्रतिस्पर्धीलाई विभिन्न टास्क गराएर रियालिटी सोले उपहार राशी ५० लाख बनाएको हो।सलमान खान कार्यक्रमका होस्ट हुन्।
को थिए त पहिलो बिग बोस?
'आशिकी' फिल्मबाट बलिउडमा डेब्यू गरेका राहुल रोय बिग बोस सिजन वानको पहिलो विजेता थिए। उक्त सोलाई अर्सद वर्सीले होस्ट गरेका थिए। त्यतिखेर, राहुलले उपहारमा नगद १ करोड जितेका थिए।
बिग बोसको दोस्रो संस्करणको उपाधि आशुतोष कौशिकले जितेका थिए। रोडिजको उपाधि जितेपछि उनले यो उपाधि जितेका थिए। त्यतिखेर उनले उपहारमा १ करोड मात्र जितेनन्, विभिन्न फिल्महरुमा पनि अभिनय गर्ने मौका पाए। उनले उपाधि जितेसँगै 'जिला गजिदावाद', 'सर्टकट रोमियो' र 'किस्मत लभ पैसा दिल्ली'लगयातमा अभिनय गरे। सुरुमा शिल्पा सेट्टीले उक्त सो होस्ट गरेकी थिइन्। पछि वर्सिदले नै सो होस्ट गरेका थिए।
२००८ को सोको तेस्रो संस्करणको होस्ट अमिताभ बच्चन थिए। त्यतिखेर विन्दूदारा सिंह सोको विजेता बनेका थिए। उनले एउटा कारसहित १ करोड उपहार पाएका थिए। त्यसपछि उनी 'सन अफ सरदार', 'नन भेज', 'खन्ना पटेल'लगायतको फिल्ममा देखिएका थिए।
त्यसपछि सलमान खानले सोको चौथो संस्करण होस्ट गर्न थाले। त्यतिखेर श्वेता तिवारी बिग बोस विजेता बनिन्। उनले पनि १ करोड नगद नै उपहारमा जितेकी थिइन्।
बिग बोसको पाँचौं संस्करणलाई भने सलमानसँगै संजय दत्तले होस्ट गर्थे। जूही पर्मरले उक्त सिजनको उपाधि जितेकी थिइन्। उनी बिग बोस १२ मा अतिथि बनेर पुगेकी थिइन्।
त्यस्तै, उर्वसी ढोलकिया 'बिग बोस सिजन ६' को विजेता थिइन्। त्यतिखेर उनले नगद ५० लाख उपहारमा पाएकी थिइन्।
गौहर खान सिजन ७ को विजेता भइन्। बिग बोसमा सहभागी हुनु अगावै बलिउडमा उनको चर्चा थियो। सोले उनी झनै चर्चित भइन्। उनी सिजन १२ मा अतिथि बनेर बिग बोसको घरमा पुगेकी थिइन्।
'दीया और बाती'को अभिनेता गौतम गुलाटी सिजन ८ को विजेता बनेका थिए। ५० लाखको नगद उपहार जितेसँगै उनले विभिन्न फिल्ममा अभिनय गरे।
प्रिन्स नरुला सिजन ९ का विजेता थिए। उनले उपहारमा ३५ लाख पाएका थिए। त्यस्तै, मनवीर गुर्जार सिजन ८ का विजेता थिए। उनले त्यतिखेर ४० लाख नगद जिते। त्यसपछि 'खत्रों कि खिलाडी'मा उनी देखिए। उनी अहिले डेब्यू फिल्म 'आज कि अयोद्धा'को काममा व्यस्त छन्।
शिल्पा सिड्ने बिग बोस सिजन ११ को विजेता हुन्। उनले ४४ लाख नगद उपहार जितेकी थिइन्।