PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

प्रहरी र सेनाको जागिर छोडेर गुन्डा ‘राधे' ग्याङमा, भन्छन् : जागिरमा भन्दा कमाइ त लुटमा रहेछ



सविन ढकाल

प्रहरी र सेनाको जागिर छोडेर गुन्डा ‘राधे' ग्याङमा, भन्छन् : जागिरमा भन्दा कमाइ त लुटमा रहेछ

काठमाडौं : रातिको करिब ८ बजेको थियो। घरको गेट खुल्लै थियो। तीन युवकहरू गेटबाट घरभित्र छिरे। उनीहरुलाई कसैले रोकटोक नै गरेन। घर थियो जडीबुटीस्थित गणेशमान श्रेष्ठको। त्यसको केही समयमा करिब १० जनाको समूह घर नजिकै पुग्यो। केही युवक घरभित्र छिरे। बाँकी रहेका युवकले घरलाई घेरा हाले। उनीहरू परिचित युवा थिएनन्।

केही बेरमा एउटा रहस्य खुल्यो। पहिले घरभित्र छिरेका तीन जना लुटेरा पो रहेछन्। दोस्रो लटमा पुगेका १० युवक भने सिभिल प्रहरी। श्रेष्ठ परिवारले उनीहरु लुटेरा रहेको चाल त उनीहरु पक्राउ परेपछिमात्रै पत्तो पायो। श्रेष्ठ परिवार लुटिनबाट बच्यो। प्रहरीमा आएको गोप्य सूचनाले प्रहरीले लुटेरा पक्राउ गर्न सफल भयो।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले शनिवार राति तीन जना युवकलाई चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिन सफल भयो। धादिङ घर भएका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकार र काभ्रे भुम्लु गाउँपालिका ८ घर भएका ३० वर्षीय अञ्जन उप्रेती पक्राउ परे। उनीहरूले ग्याङ बनाएर केही समयदेखि हतियार देखाएर लुटपाट गर्दै आएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामा भन्छन्, ’ प्रारम्भिक अनुसन्धानमा उनीहरूले केही समयदेखि हतियारको भरमा लुटपाट गर्दै आएको देखिन्छ।‘

प्रहरी र सेनाको जागिर छोडेर लुट धन्दामा
प्रहरीले शनिवार नियन्त्रणमा लिएका २५ वर्षीय केदारप्रसाद अधिकार भने पूर्व सुरक्षाकर्मी हुन्। अधिकारी नेपाल प्रहरी र केही समय नेपाली सेनामा समेत कार्यरत रहेको खुलेको छ। २०७० सालदेखि २०७२ सम्म अधिकारीले नेपाल प्रहरीको जवानमा जागिर खाएका थिए। दुई वर्षपछि उनी प्रहरीको जागिर छोडेर भागे। भागेको केही समयमा नै नेपाली सेनामा जागिर खुल्यो। अधिकारीले सेनामा भर्ती हुन निवेदन दिए। सबै प्रक्रिया पूरा भएपछि २०७३ सालमा उनी फेरि सेनाको जागिरे भए। 

प्रहरीको जागिरमा सन्तुष्ट नभएका अधिकारी सेनामा पनि धेरै समय बिताउन सकेनन्। तीन वर्ष काम गरेर फेरि भागे। प्रहरीको जागिर छोडेर भागेका अधिकारीले कसरी सेनामा फेरि जागिर खान पाए खुल्न सकेको छैन। शनिवार नियन्त्रणमा परेका अधिकारीले आफू जागिरमा सन्तुष्ट नभएको बताएका छन्। अधिकारीले प्रहरी बयानमा भनेका छन्, ‘प्रहरीको जागिरमा कमाइ नै रहेनछ। लुटमा नै कमाइ देखेर लागेको हुँ।' सेनाको जागिर छोडेपछि उनी गुन्डाको राधे ग्याङमा सामेल भएका थिए।

गुन्डा नाइके घैटेका सहयोगी
लुटको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका अञ्जन उप्रेती भने गुन्डा नाइके कुमार घैटेका सहयोगी हुन्। घैटेको जग्गा कारोबार सम्पूर्ण हेर्ने काम उनै उप्रेतीले गर्ने गरेको प्रहरीको दाबी छ। एसएसपी लामाले भने, 'गुन्डा नाइके घैटेको सहयोगी भएर काम गर्दागर्दै लुटपाटमा हिँड्ने गरेको देखिएको छ।' उप्रेतीको साथबाट नै प्रहरीले शनिवार लोड गरेको पेस्तोल बरामद गरेको थियो। उनीहरूले भारतबाट पेस्तोल ल्याएको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell