PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

प्रहरी प्रमुख खनाल कञ्चनपुरमा, निर्मला हत्या प्रकरणमा जानकारी लिँदै



पहिलोपोस्ट

प्रहरी प्रमुख खनाल कञ्चनपुरमा, निर्मला हत्या प्रकरणमा जानकारी लिँदै

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आइतवार कञ्चनपुर पुगेका छन्। 

१३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको पछिल्लो जानकारी लिन लागि उनी कञ्चनपुर पुगेको महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ। 

महानिरीक्षक खनालले कञ्चनपुरमा स्थानीयवासी, मानव अधिकारकर्मी, निर्मला पन्तका परिवारसँग कुराकानी गरेका छन्। त्यस्तै महानिरीक्षक खनालले घटनाको जानकारी लिन काठमाडौंबाट नै अनुसन्धानमा खटिएका प्रहरी समेत लिएर गएका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी रुकम कुँवर  र सई गजेन्द्र रावल महानिरीक्षक खनालको टोलीमा छन्। 

महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आइजीपी खनालले अपराधी सानो वा ठूलो जस्तै भए पनि नियन्त्रणमा आउने दावी गरे। महानिरीक्षक खनालले भने, ‘निर्दोष फस्दैनन्, दोषी जो कोही, जतिसुकै ठूलो वा सानो भए पनि छुट्दैन। कानुनको नजरमा सबै समान हुन्। प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख छ।'

घटना भएको पाँच महिना बितिसक्दा पनि निर्मलाको हत्यरा पत्ता लगाउन नसकेको भन्दै प्रहरी आलोचित बन्दै आएको छ। अपराधी पत्ता लगाउन भन्दा पनि नक्कली अभियुक्त खडा गरेको भन्दै थप प्रहरी विश्वासमा संकट पर्दै आएको छ। 

निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गर्दै खनालले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको बताए। निर्मला हत्यापछि आइजीपी खनाल दोस्रोपटक कञ्चनपुर पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell