काठमाडौं : भ्रष्टाचार भर्सेस प्रेमको कथामा बनेको फिल्म हो 'सय कडा दश'।
अहिले फिल्मको 'दाइलाई कुरा लाइदिनी'बोलको गीत चर्चामा छ। निर्माण टिमले अहिले फिल्मको प्रचार थालेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको छ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललगायतका कलाकार देखिएका छन्। ट्रेलरमा 'सयमा कति भ्रष्टाचारी?' भनेर प्रश्न सोधिएको छ। त्यो जान्न भने माघ १८ मा नै थाह हुनेछ। यहि मितिमा फिल्म प्रदर्शनमा आउने भएको हो।
फिल्मलाई 'प्रेमगीत २' निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा मनोज गजुरेल र राजाराम पौडेलको पनि मुख्य भूमिका छन्। कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिल्म हो।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्।