PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रस्तावित प्रधानन्यायाधीशलाई १० प्रश्न: 'म्यारिज'को व्याख्यादेखि न्यायालयको 'सेटिङ'सम्म



बीपी साह

प्रस्तावित प्रधानन्यायाधीशलाई १० प्रश्न: 'म्यारिज'को व्याख्यादेखि न्यायालयको 'सेटिङ'सम्म

काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सांसदहरूले दर्जन बढी प्रश्न गरेका छन्। 

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनवाई चलिरहेका जबरालाई आइतबार सांसदहरूले एक दर्जनभन्दा बढी प्रश्न गरे। संसदीय समितिमा परेका उजुरी र प्रमाणका आधारमा प्रश्नहरू सोधिएका थिए।

आइतबारको सुनवाईमा १० जना सांसदहरूले जबरामाथि प्रश्न गरे। समितिको तर्फबाट सांसद शिवकुमार मण्डलले प्रश्न गरे भने अन्य ९ जना सांसदले आ–आफ्नो प्रश्न राखे। 

संसदीय सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण आइतवारको सुनवाई स्थगित हुँदासम्म दुई जना सांसदले प्रश्न गर्न बाँकी रहेको छ। मङ्गलवार दिउँसो ११ बजे पुनः बाँकी सांसदहरूले प्रश्न गर्ने छन्।

आइतवार जबरामाथि उठेका मुख्य १० प्रश्नः

१) न्यायालयभित्र तपाईँको प्रवेश ब्ल्याकमेलबाट सुरु भएको कुरा आएको छ। पहिले कानुन व्यवसायीको रूपमा काम गर्दै गर्दा कुनै बेला प्रधानन्यायाधीशका निम्ति सिफारिस भएका सुरेन्द्रप्रसाद सिंह जो उमेरसम्बन्धी विवादमा परेका थिए। त्यसको उजुरीकर्ताको रूपमा तपाईँ आफै स्वयम् हुनुहुन्थ्यो। उमेर सच्याएको कारणले रिट दायर भएको थियो। सिंह र तपाइबिच सहमतिपछि उहाँ प्रधानन्यायाधीश हुनु भयो र तपाईँ न्यायाधीश नियुक्त भएको भन्ने कुरा आएको छ। यसमा कति सत्यता छ?
२) जुवातासलाई कानुनले अपराधको रूपमा स्वीकार गरे पनि तपाईँले म्यारिज (तासको खेल) मनोरञ्न भनेर बेन्चबाट व्याख्या गरिएको थियो।  बौद्धिक खेलको रूपमा व्याख्या भएको थियो। यसको विषयमा तपाईँको धारणा के छ?
३) प्रधानन्यायाधीशले तोकेको इजलास तपाईँले बहिस्कार गरेको कुरा के हो? तपाईँको यो घटनाले अन्य न्यायाधीशमा के असर पर्ला?
४) पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको सम्पूर्ण सम्पत्ति राज्यले ट्रस्टको नाममा व्यवस्थित गरेको थियो। तर तपाईँको बेन्चले छाउनीमा रहेको १५ रोपनी जग्गा प्रेरणा शाहको नाममा गर्‍यो? ट्रस्टको सम्पत्ति कसरी दाइजोको रूपमा प्रेरणाको भयो?
५) वीरगंज वडा नम्बर २ को धार्मिक एवं एतिहासिक छपकैया पोखरी कसरी निजी भयो? तपाईँको आफन्त प्रमोदविक्रम शाहको नाममा कसरी गयो? 
६) तपाईँले सफाइ दिएको जेपी गुप्ताको केस न्यायाधीश सुशीला कार्कीको बेन्चले उल्ट्याएको थियो र तपाईमाथि कारवाहीको सिफारिस गरेको थियो? अब तपाईँ प्रधानन्यायाधीश भएपछि त्यो केसमा के हुन्छ?
७) नियम विना नै रोयल क्यासिनो कसरी सञ्चालनमा आयो?
८) संसदीय समितिबाट अस्वीकृत व्यक्ति अहिले सर्वोच्च अदालतमा छ। अब तपाईँ प्रधानन्यायाधीश भएपछि के हुन्छ?
९) न्यायालयका विचौलियसँगै तपाईँको साँठगाँठ छ भन्ने कुरो के हो?
१०) न्यायालयमा ‘सेटिङ्’ शब्द चर्चित छ। कसरी हटाउनु हुन्छ होला?

संसदीय समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश जबरालाई अन्य सैद्धान्तिक प्रश्नहरू पनि गरेका थिए। उठेका प्रश्नहरूको जवाफ जबराले मंगलवारको सुनुवाइमा दिनेछन्। उनको जवाफ पछि नै प्रधानन्यायाधीश हुने नहुनेबारे फैसला हुनेछ।

सुनवाईको पहिलो दिनमा जबराले १५ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरे। 

भ्रष्टाचारमा शून्य सहनशीलतादेखि एनजीओ आइएनजीको प्रवेशमा रोकसम्मको योजना जबराले पेस गरेका छन्।

संसदीय सुनुवाइ समितिबाट जबरा स्वीकृत भएको खण्डमा करिब ४ वर्ष जति प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell