- कुलबहादुर गुरुङ-
अन्ततः मसहित दोस्रो दर्जाका तीन नेतालाई नेपाल पठाउने निर्णय गरियो। पञ्चायतले हाम्रो हत्या गर्यो भने विपी र अन्य नेताको पनि गर्छ, नेपाल फर्कनु हुँदैन भनेर बुझ्नुपर्ने। हत्या गरेन भने विपी र अन्य नेतालाई मृत्युदण्ड चाहिँ दिँदैन भनेर जान्नुपर्ने।
हाम्रो हत्या गर्यो पञ्चायतले भने विपीहरू नेपाल नफर्कने। हाम्रो हत्या गरेन भनेमात्र नेपाल फर्कने।
निर्णय यही थियो, यही निर्णय मानेर हामी नेपाल पस्यौँ। म, वासु कोइराला र धर्म गौतम।
हामी टेस्ट अर्थात् परीक्षणका लागि प्रवासबाट ज्यानको माया मारेर फर्किएका थियौँ।
राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ सालमा विपी कोइराला नेपाल फर्कनुअघि सर्वोच्च नेता गणेशमान सिंह लगायत धेरै शीर्ष र अन्य नेता र कार्यकर्ताको ठूलो पङ्क्तिको आग्रह फर्कनु हुँदैन भन्ने थियो। विपी समेतलाई विपक्षी बनाएर पञ्चायतले ७ अलग अलग मुद्दा अदालतमा दायर गरेको थियो। यी मुद्दाका आधारमा विपीलाई फाँसी दिनुपर्ने आवाज कट्टरपन्थी पञ्चले उठाउने गर्थे। यी मुद्दाहरू नेपाली काङ्ग्रेसले गरेको सशस्त्र सङ्घर्षसित सम्बन्धित थिए। त्यसैले नेपाल फर्किए पञ्चायतले विपी लगायतका नेतालाई मृत्युदण्ड दिने भनाइ सर्वोच्च नेता सिंहको थियो।
‘अदालतमा विपीको बयान’ नामको एक पुस्तिका साथीहरूले प्रकाशित गर्नुभएको छ। पढ्नुभयो भने विपीको तर्क शक्ति अनि राष्ट्र, क्रान्ति र विद्रोहप्रति उहाँको जिम्मेवारी छर्लङ्ग बुझ्न सकिन्छ।
बनारसमा विपी र गणेशमानजी सँगै सारनाथमा बस्नुहुन्थ्यो। उहाँहरू साथीजस्तै हुनुहुन्थ्यो तथापि गणेशमानजी विपीलाई अति श्रद्धा गर्नुहुन्थ्यो।
विपीले अब नेपाल फर्कनुपर्छ भनेर निश्चय गरिसक्नु भएको थियो।
गणेशमानजीका विचारमा भारत बस्नु र नेपाल पस्नु दुवै हितकर थिएनन्। भारत बस्नु स्लो प्वाइजन (मन्द विष) र नेपाल पस्नु सोसाइडल गेम (आत्महत्या) हो भन्ने उहाँको धारणा थियो।
विपीले काठमाडौँका आफ्ना साथी र डेमोक्र्याटसित पनि सल्लाह गर्नुभयो। बनारस, फारबिसगञ्ज, पूर्णिया, गोरखपुर लगायत भारतका ठाउँठाउँ बसेका साथीहरूसित सल्लाह माग्नुभयो। धेरै दिन यस्तो सल्लाह गर्नुभयो उहाँले।
तर, कुनै साथीले पनि नेपाल फर्कन सुझाव दिएनन्। काठमाडौँका डेमोक्र्याटहरूले त 'भारतको पनि इन्ट्रेस्ट विपी नेपाल नफर्कनुहोस् भन्ने छ' भन्दै तर्क गरेका थिए।
एक रात बनारसको बैठकमा म पनि थिएँ।
‘गएपछि हामीलाई मार्न सक्छ, पहिलो अप्सन’, विपीले कुरा सुरु गर्नुभयो, ‘जेल हाल्न सक्छ दोस्रो र त्यत्तिकै छाड्न सक्छ, तेस्रो अप्सन। हामी सशस्त्र आन्दोलन गर्ने भनेर यहाँ आयौँ। यति बेला प्वाइन्ट अफ नो रिटर्न छ। अब सशस्त्र आन्दोलनको एजेन्डा छैन। सशस्त्र आन्दोलनको एजेन्डा छैन भने के राजनीति पनि छैन त?’
उहाँको धारणा थियो, ‘राजनीति गर्दा रिस्क लिनुपर्छ, ठाउँ अनुसारको रिस्क हुनुपर्छ। बेलायतमा राजनीति गर्नेले भन्दो हो मेरो भनाइले जनताको चित्त नबुझे म चुनाव हार्छु। अहिले भारतमा इमर्जेन्सी छ। सरकारलाई मन नपर्ने कुरा गर्दा जेल पर्नसक्छु भन्ने धारणा बनाउनु पर्छ। उता नेपालमा विरोधको राजनीति गर्नेले मेरो गर्धन पनि जान्छ भन्ने सोच्नुपर्छ। जहाँ पनि खतरा हुन्छ तर ठाउँ अनुसारको हुन्छ।’
तर्क शक्तिमा विपी उम्दा हुनुहुन्थ्यो।
‘हामीले गरौँ वा नगरौँ, नेपालमा आन्दोलन अवश्यम्भावी छ’, उहाँले भन्नुभयो, ‘जसले भए पनि गर्नैपर्छ तर त्यो आन्दोलन आफ्नै बलबुतामा हुनुपर्छ। आफ्नै खुट्टामा उभिएको हुनुपर्छ। हामी अब भारतमा बसेर आन्दोलन गर्न सक्दैनौँ। यहीँ बसिरह्यौँ भने हामीलाई सोध्न पनि कोही आउँदैनन्। तर, नेपालमा जेलमा नै पर्यौँ भने पनि हामीलाई भेट्न आउँछन्। कार्यकर्ता, शुभेच्छुक सबैको मुभमेन्ट बढ्छ।’
प्रवासमै रहेको कोही कार्यकर्ता पहिले नेपाल गइदिउन् भन्ने विपीको धारणा सरसल्लाहका क्रममा हामीले बुझ्यौँ। कोही जाओस् भन्ने उहाँको भावना थियो तर ‘तँ जा’ भनेर नामै लिएर कसैलाई भन्न सक्नु भएन।
उहाँको भावना बुझेर मैले भनेँ, ‘म जान्छु।’
मैले भनेपछि वासु र धर्मजीले पनि भन्नुभयो। विपीका अनुहारमा खिन्नताका रेखाहरू स्पष्ट देखिए। कुनै नेता केही बोल्नुभएन। बोल्ने शब्द पनि थिएनन् शायद..।
जे भए पनि पार्टीको निर्णय थियो, हामीले आउनु नै थियो। हामी आउने मिति पनि तय भयो कात्तिक २५ गते। पटनाबाट जहाज चढेर काठमाडौँ आउने कार्यक्रम निश्चित भयो। टिकटको व्यवस्था गर्ने जिम्मा विपीले गिरिजाबाबुलाई दिनुभयो।
कात्तिक २४ गते २०३३ को रात। हामीलाई बिदा गर्न बनारसबाट सबैजसो नेता आइपुग्नु भएको थियो। विपी, गणेशमानजी, सुशीला कोइराला, गिरिजाबाबु, नोना, शैलजा सबै आउनुभयो। विपीले आज म तिमीहरूसितै खाना खान्छु भन्नुभयो।
पटनामा विपीका अनन्य मित्र हुनुहुन्थ्यो देवेन्द्र बाबु। देवेन्द्र बाबुले २००७ सालको क्रान्तिदेखि नै अनेकौँ अप्ठेरो परिस्थितिमा काङ्ग्रेसलाई सहयोग गर्नुभएको छ। उनै देवेन्द्र बाबुका घरमा हाम्रो रातिको खाना खाने कार्यक्रम तय भयो।
गणेशमानजीका मनमा केही कुरा नअडिने। लागेको भन्नै पर्ने।
खाना खाँदाखाँदै उहाँले भनिहाल्नुभयो, ‘भाचाखुशीमा लगेर दही चिउरा खान दिएको जस्तै पो भयो त।’
त्यहाँ उपस्थित कतिले यो बुझे, कतिले बुझेनन्। विपी, गिरिजाबाबु, सुशीला भाउजूले बुझ्नुभयो। मैले पनि बुझेँ। एक छिन सन्नाटा छायो।
काठमाडौँमा राणाकालमा ज्यानमारालाई मृत्युदण्ड दिने बेलामा उसको इच्छा अनुसारको भोजन दिइन्थ्यो। धेरैजसो ज्यानमाराले रक्सीमात्र पिउँथे। मृत्युदण्ड दिएको थाहा नहोस् भनेर रक्सी खाँदाखाँदा धेरैजसो ज्यानमारा बेहोस हुने गर्दा रहेछन्। यसरी ऊ बेहोस भएपछि उसलाई पेरुङ्गामा हालेर भाचाखुशी भन्ने ठाउँमा लगिन्थ्यो र अन्तिममा दही चिउरा खान दिइन्थ्यो। ज्यानमाराले इच्छा अनुसारको भोजन गर्दा रक्सी खाए पनि नखाए पनि भाचाखुशीमा दही चिउरा खानै पर्थ्यो।
देवेन्द्रबाबुको घरको भव्य डिनर हाम्रा लागि भाचाखुशी सम्झनु भएछ, गणेशमानजीले। बोली त हाल्नुभो। उहाँ बोलेपछि त्यत्रो समूहमा कसले प्रतिवाद गर्ने? हामीले ज्यान माया मारेकै थियौँ। सन्नाटा धेरै बेर जारी रह्यो।
कात्तिक २५ गते बिहान विपी, गणेशमानजी र सुशीला भाउजू हामीलाई ‘बाई’ भनेर बनारसतिर लाग्नुभयो। सबै भावुक मुद्रामा हामीसित छुट्टिनुभएको थियो। हामी जहाज चढेर काठमाडौँ आयौँ।
हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरियो। सिधै अञ्चलाधीश कार्यालय रानीपोखरी लगियो। त्यहाँ बयान गराइयो।
सशस्त्र आन्दोलनका क्रममा झापामा ६५ नाल बन्दुक पक्राउ परेको थियो। त्यो बन्दुक केबी गुरुङले नै मगाएको हो भन्ने अभियोग मलाई लगाइएको थियो।
हनुमानढोकामा म र धर्मजीलाई २५ दिन थुनियो। हामी दुवै मेची अञ्चलका भएकाले मेची अञ्चलाधीशले मुद्दा हेर्ने भनेर हामीलाई झापा कारागार सरुवा गरियो। वासुलाई काठमाडौँमै राखियो।
जेलनेल सबै भोगियो।
मेचीमा लीलाराज विष्ट अञ्चलाधीश थिए। उनी काङ्ग्रेसका खुङ्खार विरोधी। उनैले सरोज कोइरालालाई मार्न लगाए। ‘किलर’–का रूपमा प्रख्यात थिए उनी।
झापा काण्डमा परेका ५ वामपन्थीलाई जङ्गलमा लगेर मारेपछि अब काङ्ग्रेसको पालो भन्ने गाइँगुइँ चल्यो जेलमा। हाम्रो आङ ढक्क फुल्थ्यो।
दुई–तीन पटक मलाई जेलबाट निकालेर लगेको छ। जङ्गलै–जङ्गल गाडीमा हिँडाउँथे। कहाँ लगेको भन्दा कमान्डरमा खटिएको सईले हप्काउँथ्यो। त्यसपछि चुप लाग्न बाध्य हुनुपर्थ्यो। तर, के निर्देशन हुन्थ्यो कुन्नि, मारेनन्।
मलाई विपीले पाँचथरमा सशस्त्र युद्ध गरेर सदरमुकाम कब्जा गर्न खटाउनु भएको थियो। विक्रम सम्वत् २०३२ तिरको कुरा हो। पाँचथर कब्जा गर्न त पहिले इलाम कब्जा गर्नुपर्थ्यो। इलाम कब्जा गर्न सिमानादेखि नै हान्दै जानुपर्थ्यो। तर, विपीले सिमानामा नहान्नू भन्नुभएको थियो। भारतले ५० माइल यता कुनै क्रियाकलाप नगर्न नेपाली काङ्ग्रेसलाई दबाब दिएको थियो। भारतमा इमर्जेन्सी चलिरहेकै थियो।
बनारस बस्दा क्यालेन्डरमा नेपालको नक्सा पनि थियो।
इलामबाट कब्जा गर्न अप्ठ्यारो हुने भएपछि मैले क्यालेन्डर हेरेर च्याङथापुबाट हमला गर्ने योजना बनाएको थिएँ। च्याङथापुमा सेनाको टुकडी बस्छ भन्ने मलाई थाहा थियो। त्यसलाई परास्त गरेपछि फिदिम कब्जा गर्न कुनै गाह्रो थिएन भन्ने दृढता थियो ममा।
हाम्रो लडाकुको टोली काँकडभिट्टापारि सीमाछेउ नक्सलबाडीमा बसेको थियो। हामी त्यहाँ हतियार पर्खेर बसेका थियौँ। त्यहाँ कसैले गोला, बारुद ल्याइदिने कुरा थियो। त्यो सामान लिएर हामी सीमा काटेर आउने, च्याङथापु कब्जा गर्दै पाँचथरको सदरमुकाम फिदिम कब्जा गर्ने रणनीति थियो हाम्रो।
नक्सलबाडीमै हामीलाई खबर आयो, हाम्रो बन्दोबस्तीको सामान पन्जाबमा पक्राउ परेछ। ठुलो मात्रामा गोला, बारुद र बन्दुक थिए।
अब म बनारस नै फर्किएँ। त्यसपछि विपीले आफ्नो रणनीतिमा पुनर्विचार गर्न थाल्नुभयो। यसअघि ओखलढुङ्गामा टिम्बुरबोटे जस्तो दुःखद् घटना भयो। राम–लक्ष्मणजस्ता हाम्रा होनहार धेरै साथी मारिए। म साथमा हुन्थेँ भने मारिन दिन्नथेँ जस्तो लाग्छ अहिले पनि।
झापा जेलमा बस्ता मलाई मार्छन् भन्ने लागेको थियो। हरेक रात आज राति चाहिँ लान्छन् जस्तो लाग्ने र निद्रा ढिलो पर्ने। जसलाई मार्नुछ, त्यसलाई प्रायः राति लान्थे। बिहान भएपछि आजको रात बाँचियो भन्ने लाग्थ्यो।
मेरा भाइ हेम गुरुङ चिया विकास निगममा काम गर्थे। तीन वर्ष भइसक्यो, मलाई घरका कसैलाई भेट्न दिइएको थिएन। त्यसैले पनि मलाई मार्छन् भन्ने लागेको थियो। घरका मान्छेले पनि माया मारेका रहेछन्।
एकपटक भाइ हेमले प्रशासनलाई मेरी श्रीमती रत्नसहित परिवारलाई भेट्न दिइयोस् भनेछन्। दाजु–भाउजूको अन्तिम दर्शन गराइदिनु पर्यो भनेर अनुरोध गरेछन्।
प्रशासनका मान्छेले भनेछन्, ‘भेट्न त दिन्छौँ तर आँसु खसाउन कसैले पाइँदैन।’
भाइले त्यो सर्त मन्जुर गरे र झापा जेल आएको तीन वर्षपछि परिवारसित भेट भयो।
यसको एक हप्तापछि त जनमत सङ्ग्रहको घोषणा भइहाल्यो। हामीले आममाफी पायौँ। अनि बल्ल अब चाहिँ हामी बाच्यौँ भन्ने लाग्यो।
(काङ्ग्रेस नेता तथा विपी विचार राष्ट्रिय मञ्चका अध्यक्ष गुरुङसित पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेले गरेको कुराकानीमा आधारित।)