PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

वीरगंज कारागारभित्र स्वास्थ्य सेवा सुरु, सरकारी दरबन्दीका चिकित्सक पुगेनन्



पहिलोपोस्ट

वीरगंज कारागारभित्र स्वास्थ्य सेवा सुरु, सरकारी दरबन्दीका चिकित्सक पुगेनन्

वीरगंजः वीरगंज कारागारस्थित ५ वर्ष पहिले निर्माण भएर सञ्चालनमा आउन नसकेको ‘आचार्य तुलसी स्वास्थ्य उपचार केन्द्र’ सञ्चालनमा आएको छ। वीरगंजका चिकित्सकको एक समूहले प्राविधिक सहयोग गरेपछि उपचार केन्द्र सञ्चालनमा आएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सेवा सुरु गरेका हुन्। सेवा सुरु भएसँगै कैदीबन्दीको जेलभित्रै स्वास्थ्य उपचार पाउने भएका छन्। शनिवार कारागारका ६ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण समेत गरिएको कारागारका निमित्त जेलर गणेश भण्डारीले बताए।

चिकित्सकहरू डा. उदयनारायण सिंह, डा. दिलीप चौरसिया, डा.विवेक यादव, डा.सुशील साह, डा.सञ्जय जैसवाललगायत टिम बनाई प्रत्येक दिन २ घण्टा नियमित बहिरङ्ग सेवा र १५ दिनमा एक पटक विशेषज्ञसहितको सेवा दिने बताए।

आफू कार्यरत रहेको अस्पतालबाट फुर्सदको समयमा सेवा गर्ने चिकित्सकहरूले बताएका छन्। जेलभित्रका कैदीबन्दीको स्वास्थ्य उपचारको लागि एक मेडिकल अफिसर,एक जना एचए र एक जना अनमीको दरबन्दी भए तापनि गत वर्षदेखि स्वास्थ्य विभागले अनमीको दरबन्दी कटौती गरेको छ।

दुई जना स्वास्थ्यकर्मीको दरबन्दी हुँदाहुँदै पनि चिकित्सक सरुवा भएर आउन नमानेपछि उक्त उपचार केन्द्रले सेवा दिन सकेको थिएन।

कैदीको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल धाउनु पर्ने बाध्यता थियो। २०७१ सालमा नथुमल–हनुमनी देवीको छोरा उद्योगी कन्हैयालाल, प्रदीप कुमार, अशोक कुमार, विजय सिंहको संयुक्त लगानीमा २ कोठे उपचार केन्द्र निर्माण भएको थियो।  १२ लाख रुपैयाँको लगानीमा केन्द्र स्थापना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell