
काठमाडौँः सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १२औँ चरणका खेलहरु आजबाट सुरु हुँदैछन्।
जस अन्तर्गत आज तीन खेल हुनेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि १०औँ चरणको खेल सकिएपछि ११औँ र १२औँ चरणको खेल तालिका सार्वजनिक गरेको थियो।
त्यसमा केही परिवर्तन गर्दै एन्फाले आइतबार १२औँ चरणको खेल तालिका सार्वजनिक गरेको हो।
नयाँ तालिका अनुसार १२औँ चरणको एउटा खेलमात्र बिहान ११ बजे हुनेछ भने बाँकी ६ खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
आज १२औँ चरणको पहिलो खेलमा बिहान ११ बजे एनआरटी र मछिन्द्र क्लब एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन्। सोही मैदानमा दिउँसो साढे २ बजे फ्रेण्ड्स क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् भने दिउँसो साढे २ बजे नै हलचोकस्थित एपीएफको मैदानमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ।
यसै गरी मंगलबार र बुधबार दुई/दुई खेल हुनेछन्। मंगलबार सरस्वती र च्यासल युथ क्लब एन्फा कम्प्लेक्स मैदानमा साढे २ बजे खेल्नेछन्। त्यही समयमा हलचोकमा घरेलु टोली एपीएफले नेपाल पुलिससँग खेल्नेछ। यो सिजनको तेस्रो तथा अन्तिम डिपार्टमेन्टल डर्बी हुनेछ।
यस्तै बुधबार सरस्वती र थ्री स्टारबीच एन्फा कम्प्लेक्समा तथा च्याम्पियन भइसकेको मनाङ मर्स्याङ्दीले हिमालयन शेर्पासँग हल्चोकमा खेल्नेछ। यसअघिको खेल तालिकामा मनाङ र शेर्पाको खेल मंगलबार बिहान ११ बजे हुने उल्लेख थियो। तर प्राविधिक कारणले उक्त खेल एकदिनपछि सारिएको एन्फाले जनाएको छ।
लिगमा लगातार ११ खेल जित्दै ३३ अंक जोडेको मनाङ दुई खेल अगावै च्याम्पियन भइसकेको छ। संकटा र थ्री स्टार लगायत क्लब दोस्रो बन्ने होडमा छन्।