
वीरगंजः पर्सा प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चरेससहित तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गएराति पर्साको मिलनचोकबाट १६० किलो चरेस, तस्करीमा संलग्न ट्रक र गिरोहका एक सदस्यलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सामा घटना विवरण सोमबार बिहान सार्वजनिक गरेको हो।
वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वास्थित परवानीपुरदेखि मिलनचोक जाने सड्क-खण्डमा मकवानपुर, मनहरीबाट वीरगंजतर्फ आउँदै गरेको ना ४ ख२९८५ नम्बरको ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो।
ट्रकको बडी र क्याबिनको बीच भागमा लुकाइएको अवस्थामा १६० केजी चरेस बरामद गरिएको पर्साका एसपी रेवती ढकालले बताए।
पक्राउ परेका ट्रकका चालक हेटौँडा १२ पदमपोखरीका सागर बलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।