PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

मोदीले गरे ५५ महिनामा ५५ देश भ्रमणः पहिलो प्राथमिकता चीन र अमेरिका, दोस्रोमा नेपालसहित रुस, जर्मनी र सिंगापुर



पहिलोपोस्ट

मोदीले गरे ५५ महिनामा ५५ देश भ्रमणः पहिलो प्राथमिकता चीन र अमेरिका, दोस्रोमा नेपालसहित रुस, जर्मनी र सिंगापुर
Photo: The Financial Express

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालको ५५ महिनामा ५५ वटा देशको भ्रमण गरेका छन्। सन् २०१४ देखि सन् २०१८ को डिसेम्बरको पहिलो हप्ता सम्म उनले ५५ देशको भ्रमण गरेका हुन्। उनले यसबीच ४८ वटा विदेश यात्रामा निस्किएका छन्।

यस अवधिमा उनले ५५ देशहरूको भ्रमण गरे पनि कतिपय देशहरूमा एकभन्दा बढी पटक भ्रमण गरेका छन्। यसरी हेर्दा उनको यस कार्यकालभर भएको ९२औँ विदेश भ्रमण हो।

मोदीले यस अवधिमा सबैभन्दा बढी चीन र अमेरिकाको भ्रमण गरेका छन्। उनले यी दुवै देशको पाँच/पाँच पटक भ्रमण गरेका छन्। उनले सन् २०१५ को मेमा पहिलो पटक चीनको भ्रमण गरेका थिए। त्यस्तै २०१६ को सेप्टेम्बरमा उनी दोस्रो पटक चीन भ्रमणमा गए। त्यसको एक वर्षपछि २०१७ को सेप्टेम्बरमा उनी पुनः चीन गए।

२०१८ मा मात्र मोदी दुई पटक चीन भ्रमणमा गए। २०१८ को अप्रिलमा बुहानमा चिनियाँ राष्ट्रपति सीसँग अनौपचारिक सम्मेलनका लागि पुगेका उनी जुनमा सांघाई कोअपरेशनमा सहभागी हुन पुनः चीन पुगेका थिए।

मोदीको अर्को प्राथमिकता अमेरिका परको छ। उनले आफ्नो यो कार्यकालमा पाँच पटक अमेरिकाको भ्रमण गरेका छन्। पहिलो पटक सन् २०१४ को सेप्टेम्बरमा अमेरिका पुगेका मोदी दोस्रो पटक सन् २०१५ को सेप्टेम्बरमै अमेरिका पुगेका थिए।

त्यस्तै सन् २०१६ को मार्च १ मा अमेरिका पुगे। २०१६ कै जुनमा उनी त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणमा अमेरिकाको राजकीय भ्रमणमा पुगे। २०१७ को जुनमै उनी आफ्नो चौथो अमेरिका भ्रमणमा पुगे। यो भ्रमण पनि उनको राजकीय थियो। 

मोदीको विदेश भ्रमणको दोस्रो प्राथमिकतामा नेपालसहित रुस, जर्मनी र सिंगापुर परेका छन्। उनी प्रधानमन्त्री भएसँगै पहिलो पटक सन् २०१४ को अगस्टमा नेपाल आएका थिए। उनको यो तेस्रो विदेश भ्रमणमा थियो। उनले प्रधानमन्त्री भएसँगै जुनमा भुटान र जुलाईमा ब्राजिलको भ्रमण गरेका थिए।

अगस्टमा राजकीय भ्रमणमा आएका मोदी सोही वर्ष नोभेम्बरमा दोस्रो पटक नेपाल भ्रमणमा आए। यति वेला उनी सार्कको १८ औँ शिखर सम्मेलनमा नेपाल आएका थिए।

त्यस्तै उनी सन् २०१८ मा पनि दुई पटक नेपाल भ्रमणमा आए। २०१८ मा आफ्नो तेस्रो नेपाल भ्रमणका क्रममा मे'मा जनकपुर हुँदै नेपाल आए। उनको यो भ्रमणलाई भारतीय विदेश मन्त्रालयले ‘कार्य भ्रमण (वर्किङ भिजिटी)’ भनेको छ भने नेपालले यसलाई धार्मिक भ्रमणको संज्ञा दिएको छ।  त्यस्तै सन् २०१८ कै अगस्टमा उनी पुनः नेपालको चौथो भ्रमणमा आए। उनी यस पटक भने बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका थिए।

मोदीले यस कार्यकालमा २०१५ को जुलाईमा पहिलो पटक व्रिक्स सम्मेलनमा रुस पुगेका उनी डिसेम्बरमा राजकीय भ्रमणका लागि पुनः रुस पुगे। त्यस्तै २०१७ को जुनमा तेस्रो पटक रुस पुगेका उनी २०१८ मेको मे मा चौथो पटक अनौपचारिक सम्मेलनका लागि पुनः रुस पुगेका थिए।

उनले यस अवधिमा २०१५ को मार्च, नोभेम्बर, २०१८ को मे र नोभेम्बरमा गरी चार पटक सिंगापुरको भ्रमण गरेका छन्। त्यस्तै उनले २०१५ को अप्रिल, २०१७ मे, जुलाई र २०१८ को अप्रिलमा गरी चार पटक जर्मनीको भ्रमण गरेका छन्।

उनले यस अवधिमा ४१ वटा देशको एक पटक, १० वटा देशको दुई पटक र जापान र फ्रान्सको तीन/तीन पटक भ्रमण गरेका छन्।

 

यस्तो छ भ्रमण खर्च

यसैबिच यस अवधिको उनको भ्रमणमा विमान चार्टर गर्नका, जहाज मर्मतलगायतका लागि २०२१ करोड भारतीय रुपैयाँ खर्च भएको छ।

भारतीय विदेश राज्यमन्त्री भी के सिंहले राज्यसभामा दिएको जानकारी अनुसार सन् २०१४ को जुन १५ देखि २०१८ को डिसेम्बर ३ सम्म प्रधानमन्त्री चढ्ने १५८३.१८ करोड जहाजको मर्मत र ४२९.२५ करोड रुपैयाँ चार्टरका लागि खर्च भएको छ।

यो खर्च सन् २०१४–१५ मा ९३.७६ करोड, २०१५–१६ मा ११७.८९ करोड, २०१६–१७ मा ७६.२७ करोड २०१७–१८ मा ९९.३२ करोड खर्च भएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै यो खर्च सन् २०१८–१९ को डिसेम्बर ३ सम्म ४२.०१ करोड रहको छ।

उनले गरेको यो खर्च युपीए सरकारको नेतृत्वमा दुई कार्यकाल १० वर्ष प्रधानमन्त्री बनेका मनमोहन सिंहले गरेको ५५ महिनामा गरेको खर्चभन्दा बढी हो। उनले सन् २००९–१० देखि सन् २०१३–२०१४ को अवधिमा विदेश भ्रमण गरी १,३४६ करोड भारतीय रुपैयाँ खर्च गरेका थिए।

यसैबिच खर्च अभाव हुँदा चार वटा चार्टर जहाजको पैसा बुझाइएको छैन। खर्च अभावका कारण प्रधानमन्त्री मोदीको चार वटा चार्टर जहाजको ३५.९४ करोड रुपैयाँ नबुझाइएको बताइएको छ। उनले गत अप्रिलमा स्वीडेन, बेलायत र जर्मनी र मेमा रुस, त्यस्तै मे'मै इन्डोनेसिया, सिंगापुर र मलेसिया र जुनमा चीन भ्रमणका लागि चार्टर गरिएको जहाजको रकम दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell