
हिन्दीमा एउटा उखान छ - बाल बाल बचेँ। यो उखान रणवीर सिंहको सन्दर्भमा निक्कै लागू हुन्छ। रणवीर सिंहले हालै एउटा खुलासा गरे - आनन्द एल रायको निर्देशनमा बनेको फिल्म जेरोमा उनी पहिलो रोजाइमा थिए।
यतिसम्म कि फिल्मका लागि रणवीरसँग छलफल भयो। उनी तयार पनि भए। जसै सुटिङ सुरु हुने तय भयो फिल्मको डिलमा नयाँ ट्विस्ट आयो। फिल्ममा शाहरुख खानले चासो देखाए। त्यतिमात्र रहेन, फिल्ममा रोलमात्र होइन, लगानी नै गर्ने तहमा शाहरुख उत्रिए।
बलिउडका वादशाहका रुपमा स्थापित शाहरुखले चासो दिएपछि नहुने कुरै भएन। 'रातारात कास्ट परिवर्तन भयो र रणवीरले आफूलाई जेरोबाट बाहिरिएको चाल पाए। यतिखेर शाहरुखको फिल्म जेरोले असफलताका लागि कुनै पनि कसर छाडेको छैन। जेरोको यो अवस्था देखेर पक्कै पनि रणवीर हाँसेका होलान्,' सबै घटनालाई नजिकबाट नियालेका बलिउड स्रोतले भन्यो। रोचक त के भने शाहरुखको फिल्म फ्लप भइरहँदा रणवीरको फिल्मले भने बक्स अफिसमा राम्रो आम्दानी गरिरहेको छ।
ठूलो स्टारको फिल्मलाई यसरी रणवीरले पहिलो पटक धक्का दिएका भने होइनन्। २०१५ मा रणवीरले अनुराग कस्यपको बम्बे भेल्भेट गर्ने तय भएको थियो। तर जब फिल्ममा रणवीर कपुरले रुची देखाए सिंह प्रोजेक्टबाट आउट भए। कश्यपले सिंहलाई जानकारी नै नदिइ कास्ट फेरिदिए। र, सबैलाई थाहा छ बम्बे भेल्भेटको हालत के भयो।