फिल्म 'चिमुसिची'मा अभिनय गरिरहँदा कलाकार शेखर सुवेदीलाई निर्देशक करण विकको फोन आयो। करणले शेखरलाई भने 'हामी चाँडै नै नयाँ फिल्म गर्छौं।'
शेखरले पनि खुशी हुँदै फिल्म गर्ने निर्णय लिए। किनभने फिल्ममा उनको लिड भुमिका थियो। फिल्मको नाम 'धोबीखोला'।
उनले यसअघि निखिल उप्रेतिको 'निर्भय', 'गाँजाबाजा'मा अभिनय गरिसकेका छन्। 'निर्भय'मा उनी क्रान्तिकारीको भुमिकामा देखिएका थिए। त्यस्तै 'गाँजाबाजा'मा उनको भुमिका पुलिसको थियो। 'चिमुसिची'मा नकरात्मक भुमिकामा अभिनय गरेका थिए। फिल्म 'चिमुसिची' साउन ११ मा प्रदर्शनमा आयो। उनले त्यस फिल्ममाबाट आफ्नो अभिनयको तारिफ बटुले।
निर्देशक करणले उनको फोटो हेरेर 'धोबीखोला'का लागि प्रस्ताव राखेका हुन्। सुनाए 'उहाँले मेरो फोटो हेर्नु भएको रहेछ। त्यसैले फिल्मको अफर गर्नुभयो।'
शेखर फिल्मको छायाँकन गर्न आतुर छन्। आफ्नो लिड भुमिकाको फिल्म स्क्रिनमा हेर्न उत्साहित छन्। अभिनय उनको रुची हो। हिरो बनेर सबै दर्शकको मन जित्नु छ उनलाई।
शेखरले अहिलेसम्म तीन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनको फिल्मको यात्रा लामो भएको छैन। ५ वर्षअघिदेखि उनी मोडलिङ र नेपाली फिल्म क्षेत्रमा संघर्षरत छन्। मोडलिङ गर्न थालेपछि उनलाई अभिनयमा इच्छा बढेको हो। उनले एम आर्ट थिएटरमा अभिनय पनि सिके। 'अन्धोयुग' र 'अश्वत्थामा' उनले गरेका नाटकहरु हुन्।
उनका अनुसार 'धबीखोला'ले ग्याङ्स्टारको कथा बोल्छ। उनले भने 'मलाई रुची भएको कुरा हो अभिनय। निकै उत्साहित छु। संघर्ष गर्दा गर्दै यहाँ आइपुगेको छु। मलाई अझै संघर्ष गर्नुछ।'
फिल्म क्षेत्रमा संघर्ष गर्न कठिनाइ रहेको उनको अनुभव छ। 'संघर्ष त छ यो फिल्डमा। किनकि म जिरोबाट उठेर आएको हो। सुरुवातमा कठिनाइ हुन्छ', उनले भने 'तर लगाव आवश्यक छ आफ्नो लक्ष्य प्राप्तिका लागि।'
नेपाली फिल्म इन्डस्ट्रीसँग जोडिनअघि एक कन्सट्रक्सन कम्पनीमा काम गर्थे। पछि मोडलिङमा भविष्य बनाउने सोचेर काम छोडे। काम छोडेर मोडलिङ गर्दा सुरुवातमा आर्थिक चटारो पनि पर्यो। अहिले सबै व्यवस्थापन गरेर अघि बढेका छन्। उनी मिस्टर पपुलर अफ नेपालका विजेता पनि हुन्।
उनी जोरपाटी बस्छन्। उनलाई विभिन्न जनराको अभिनय गर्ने मन छ। एक्सन जनरामा काम गर्ने उनको रुची हो।
लुक्सका कारण साथिहरुले उनलाई बलिउड हिरो रणवीर सिंहसँग पनि दाँज्ने गर्छन्। सुरुमा त अचम्म लाग्थ्यो उनलाई। 'झट्ट हेर्दा मलाई यू लुक लाइक रणवीर सिंह भन्छन्।' अहिले त्यो कुराले खास फरक पर्दैन उसलाई । किनभने उनलाई अब शेखर सुवेदी भनेर चिनिनु छ। दर्शकको माया बटुल्नु छ।