
काठमाडौं : आज न्यू इयर इभ। भोलि नयाँ वर्ष २०१९ को सुरु।
२०१८ को बिदाइ र नयाँ वर्षको स्वागतमा उपत्यकाका विभिन्न स्थानमा आज राति मनोरञ्जनात्मक कार्यक्रम हुनेछ। राजधानीका विभिन्न स्थानमा हुने 'न्यू इयर इभ’ कार्यक्रमलाई ध्यान दिँदै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जानकारी दिएको छ।
राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको महानगरीय प्रहरी कार्यालयले रानीपोखरी प्रवक्ता एसएसपी पुजा सिंहले जानकारी दिइन्।
'तिनवटै जिल्लामा इभलाई ध्यान दिँदै सुरक्षा व्यवस्था मिलाएका छौं,' उनले भनिन्, 'हाम्रो सिभिल, सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी)मा परिचालित हुनेछ।'
सबैभन्दा बढी चहलपहल हुने दरबार मार्ग, ठमेल, क्षेत्रपाटी लगायतका स्थानमा मात्र नियमित भन्दा ६ सय सय भन्दा बढी प्रहरी खटाइएको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोशाक र तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
‘काठमाडौंमा सबैभन्दा बढी चहलपहल हुने क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाएका छौं। हाम्रो टोली साँझदेखि नै सुरक्षामा खटिने छ,' उनले भने।
काठमाडौंमा चार जना डिएसपीको कमाण्ड सुरक्षा व्यवस्था मिलाइएको छ। मदिरा सेवन गरेर होहल्ला गर्ने, मापसे गरेर सवारी साधन चलाउने, सार्वजनिक स्थानमा अनुमति नलिइ कार्यक्रमम गर्ने तथा व्यापार गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने डिएसपी बोगटीले जानकारी दिए। भिँडभाडको मौकाछोपी चोरी लुटपाट जस्ता अपराधिक गतिविधि हुने भएकाले सबैलाई होसियार हुन पनि प्रहरीले अनुरोध गरेको छ।
कुनै पनि ठाँउमा घटना भए खबर गरेको पाँच मिनेटभित्रमा नै प्रहरी घटनास्थलमा पुग्ने डिएसपी बोगटीले जानकारी दिए।
नेपाल प्रहरीका ७५ हजार सुरक्षाकर्मी मध्ये दैनिक २५ हजारभन्दाबढी सुरक्षाकर्मी खटिएका गरेका छन्। दैनिक ४ हजार ४०३ जनाले सवारी गस्ती, ६ सय स्थानमा ३ हजार ४२ जनाले चेकिङ, ६ हजार ४०३ जनाले पिकेट डियुटी, ७ हजार ३५० जनाले पैदल गस्तीलगायत सुरक्षा खटिरहेको नेपाल प्रहरीले जनाएको छ।