काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को चार जिल्ला अध्यक्षले वर्तमान एन्फा कार्यसमितिमाथि विभिन्न १४ आरोप लगाएका छन्।
गत बैशाखमा भएको निर्वाचनका क्रममा व्यापक आर्थिक अनियमितता गरेको दावी गर्दै यसअघि अडियो टेप सार्वजनिक गरेको यी समूहले सोमवार बुँदागत रुपमा १४ वटा आरोप लगाएको छ।
काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले पत्रकार सम्मेलन गरेर आप लगाएका हुन्।
उनीहरुले नेपाली फुटबलमा आमुल परिवर्तनको नारा दिएर नेतृत्वमा पुगेका कर्मा छिरिङ शेर्पाले यो ९ महिनाको समयमा गरेको आर्थिक अनियमितता, अपारदर्शिता र गलत क्रियाकलापको बारेमा यस्तो आरोप लागएका छन्।
१. विदेशी नागरिक नवीन पाण्डेलाई फिफा कंग्रेसमा नेपालको प्रतिनिधिका रुपमा सहभागि गराएको।
२. फिफा २०१८ वर्ल्डकपको टिकट वितरणमा पारदर्शीता नभएको।
३. आर्थिन नियमावली साधारण सभाबाट पारित भएको भएपनि त्यसको कार्यान्वयन नभएको।
४. नेपालमा पहिलो पटक विना रेलिगेशनको लिग गरेको।
५. जथाभावी मनोमानी ढंगबाट भत्ता वितरण गरेको।
६. फिफाद्वारा प्राप्त गरिव ३ करोड रकमबाट विना प्रकृया हचुवाको भर माग गरिएको, एन्फा तथा होस्टेल भवन पुर्ननिर्माण गर्नुभन्दा हाल सञ्चालनमै रहेको एन्फा भवन र होस्टेल कायम राखी नयाँ भौतिक संरचना निर्माण गर्नु उपयुक्त हुँदा हुँदै आर्थिक लाभको निमित्त अपारदर्शी ढंगबाट पुर्ननिर्माणको नाममा अनियमितता गर्न खोजिएको।
७. एएफसीद्वारा संचालित प्रतियोगितामा एएफसीसँग बढी रकम माग गरी होटलसँग आन्तरिक सम्झौता गरी र एएफसीलाई गुमराहमा राखेर रकम घोटाला गरेको।
८. करिव १५ दिनपछि सोही होटलहरुमा साफद्वारा संचालित फुटबल प्रतियोगितामा सहभागि टिमलाई राख्दा एएफसीलाई तिरेको रकमभन्दा करिव २५ डलर घटीमा राखेको घटनाबाट एएफसीलाई ठगी गरेको। यस सम्बन्धी एएफसीलाई जानकारी गराउने।
९. एन्फा र होटर भ्यू भृकुटी गोदावरीद्वारा समझदारी भएको अवस्थामा पनि एन्फालाई प्राप्त हुनुपर्ने रकम करिव ११ लाख एन्फाको खातामा जम्मा गर्नु पर्नेमा सो नगरी सो रकम निर्वाचनको समयमा भएको खर्च तथा आपसमा बाँडी प्रष्ट रुपमा भ्रष्टाचार गरिएको।
१०. फिफाद्वारा वेलायतमा संचालित सेमिनारमा टेक्निकल डाइरेक्टर तथा नेशनल कोचलाई निमन्त्रणा गरिएको कार्यक्रममा उहाँहरुलाई हभागि नगराई दुई उपाध्यक्षलाई सहभागि गराइएको।
११. कार्यसमितिको निर्णय बेगर विज्ञानराज शर्मालाई कम्पिटिशन कमिटी र राजिव पौडेललाई माकेर्टिङ प्रमुख बनाइएको।
१२. रेफ्री किरण गिरीलाई बैंककमा आयोजित सेमिनारमा भाग लिन गएका बेला अपमानजनक र षडयन्त्रपूर्वक सहभागि नगराइ फिर्ता बोलाइएको।
१३. रौतहटमा फिफाको सहयोगमा निर्माण हुन लागेको महिला टेक्निकल सेन्टरको कामलाई अपरादर्शी ढंगबाट अघि बढाइएको।
१४. एन्फाद्वारा संचालित प्रतियोगिता आयोजना गर्दा सम्बन्धित जिल्ला संघलाई आयोजना खर्च नदिई व्यक्तिहरुलाई दिएर प्रतियोगिता संचालन गरिएको।