गत ९ गते राति १० बजेर ४१ मिनेटमा रमेश्वर प्रसाद वर्माको मोबाइलको रिङटोन बज्यो। मस्त निदाइसकेकाले वर्माले सुरुवातका त थाहै पाएनन्। लगातार बजेको फोनले उनको निद्रा बिथोलियो। अनि फोन उठाए। तत्कालै अत्तालिएको स्वरमा आवाज आयो, 'अंकल, अंकल मलाई मार्न लाग्यो। बचाउनुस्, प्लिज।'
त्यो आवाजले अर्धनिन्द्रामा रहेका वर्मालाई झसंग बनायो र उनी पूरै ब्युझिए। अत्तालिए पनि। उनले परिवारका सबैजनालाई उठाए। र, स्वास्थ्य चौकीतिर लागे। फोन थियो, कपिलवस्तुस्थित थुन्यिहा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा कार्यरत अनमी उषा केसीको। उषाले फोन गरेका व्याक्ति वर्मा कपिलवस्तु स्थित शिवराज नगरपालिका ११ नम्बर वडाका अध्यक्ष थिए।
करिब ५ मिनेटमा वर्मा स्वास्थ्य चौकी पुगे। उनीहरु पुगेको थाहा पाउनासाथ केसीलाई कुटिरहेका व्यक्ति टाप कसे। अन्धकार भएकाले भाग्ने मानिस वर्माले ठम्याउन सकेनन्। वर्मा पुग्नासाथ अनमी केसीले रुँदै भनिन्, 'अंकल, अंकल झण्डै मारेन मलाई। तपाईँहरु एकछिनमा नआएको भए मर्थेँ होला म। मेरो हात चलाउनु नै भएको छैन।'
घटनास्थलमा सामानहरु असरल्लल थिए। उषाको अवस्था हेर्न लायकको थिएन। कपाल लुछिएको, कपडाहरु उस्तै अवस्थामा। सहारा पाएपछि उषा डाँको छोडेर रुन थालिन्।
हल्लाखल्ला मच्चिन थालेपछि ५० जना भन्दा पनि बढी मानिसहरु स्वास्थ्य चौकीमा भेला भए। प्रहरीलाई खबर गरे। प्रहरी आयो। प्रहरीले उषालाई सोधेँ, 'कसले यस्तो गर्यो?'
'मेहफुज मुसलमानले,' उषाले बताइन्।
मेहफुज मुसलमान अर्थात् गाउँको चिनिएकै चोर। साइकलदेखि गाउँलेका पानी तान्ने मोटरसम्म चोरेको आरोप थियो उनीमाथि। स—सना झगडामा पनि उसको नाम जोडिन्थ्यो।
रातको दुईबजेसम्म गाउँले र प्रहरी मिलेर खोजी गरे। तर, मेहफुज भेटिएनन्।
भोलिपल्ट बिहान ७ बजे प्रहरीले मुचुल्का लियो। त्यसपछि गाउँका केही मानिस फेरि मेहफुजको खोजीमा लागे। खोज्दा खोज्दै खबर आयो, मेहफुज नजिकैको 'वनरडियावा' गाउँमा लुकेका छन्।
केही छिनमा प्रहरी त्यहाँ पुग्यो र पक्राउ गर्यो। अहिले प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ। उषालाई बचाउने वडा अध्यक्ष भन्छन्, 'मार्ने इन्टेन्सनले नै कुटेको रहेछ। हामी नपुगेको भए जे पनि हुने रै'छ।'
किन आक्रमण गरे त मेहफुज आलमले?
'सामान्य कारणले नै मलाई उस्ले मार्ने उद्देश्यले आक्रमण गर्यो। यसअघि नि उसले यस्तै गर्दै आएको रहेछ,' अनमी उषाले सुनाइन्।
घटना भएको एक साता अघि मेहफुज आफन्तलाई लिएर अस्पताल गएका थिए। मेहफुजले त्यही दिन उषालाई देखे। देख्नासाथ एकोहोरिन थाले। कहिले नचिनेको नभेटेको मानिसले एकोहोरो हेर्न थालेपछि उषाले बर्थिङ सेन्टरको सिस्टरलाई सुनाइन्। सिस्टरले मेहफुज डरलाग्दो मानिस भएको भन्दै उसका विगतका चर्तिकला सुनाइन्। त्यसपछि उषाले इन्चार्जलाई आफ्नो डर बताइन्। इन्चार्जले सामान्य मान्दै डराउनुपर्दैन भनेर आश्वासन दिए।
त्यसको २ दिनपछि मेहफुज फेरि बर्थिङ सेन्टरमा आए। दिनभर त्यहीँ घुम्दै बसे। त्यसपछि भने उषालाई डर बढ्न लाग्यो। फेरि इन्चार्जलाई सुनाइन। इन्चार्जले पहिलेको जस्तै सामान्य हुँदै भने, 'डराउनु पर्दैन।'
तर, त्यही साँझ बर्थिङ सेन्टरको गेटमा लात्ती हान्दै मेहफुज टाप कसे।
त्यो दिन बर्थिङ सेन्टरका इन्चार्ज राजेश कुँवर पनि डराए। तर, कतै उजुरी गरेनन्।
एक सातापछि,
उषाको नाइट ड्युटी थिएन, त्यो दिन। सँगै काम गर्ने साथी बिदामा भएकाले ड्युटी बस्नुपर्ने जिम्मेवारी आइलाग्यो। उनी बसिन्। त्यस दिन बर्थिङ सेन्टरको पाले र स्विपर बाहेक बर्थिङ सेन्टरमा अन्य कर्मचारी थिएनन्।
रातको लगभग साढे ९ बजे एक महिलालाई सुत्केरी गराइन उषाले। त्यसपछि खाना खाइन्, ब्रस गरिन्। अन्य केस नआएकाले सुत्ने तरखर गर्न लागिन्। त्यही बेला कसैले ढोका ढक्ढक्यायो। तर, मानिस कोही बोलेन। पाले नबोल्दा झन् उनको मनमा शंका उब्जियो, 'किन कोही बोल्दैनन्?'
डर मान्दै वडा अध्यक्षलाई फोन गरिन्। बल्लतल्ल वडा अध्यक्षले फोन उठाए। फोनमा कुरा गर्न थालेपछि बाहिरबाट ढोकामा लात्ती बज्रिन थाल्यो। ढोका फुट्यो। वडा अध्यक्षसँग बोल्दा बोल्दै फोन पनि काटियो।
ढोकाबाट भित्र छिर्दै गरेको मानिस देख्दा सात्तो गयो उनको। कालो मास्क लगाएको मानिस भित्र छिर्यो। छिर्नासाथ उनीमाथि लाठ्ठी बजार्न थाल्यो।
'गुहार ... गुहार..... गुहार' अनेक पटक भनिन्। तर, त्यहाँ न स्विपर देखिए न त पाले नै। त्यसपछि बाँच्नको लागि त्यही मानिसमाथि 'जाइ' लागिन्। कुस्ती खेल्दा खेल्दा खेल्दै उस्को मास्क फुस्कियो।
मेहफुज ... !
त्यही व्याक्ति रहेछ। उषाले चिनेको थाहा पाएपछि मेहफुज टक्क अडियो। अलिअघि भाग्यो पनि। तर, फेरि के सोचेर उषामाथि झम्टिन आइपुग्यो। टाउकोमा लाठी बजार्न थाल्यो। 'गोरुलाई पनि कसैले त्यसरी चुट्दैन होला,' उषाले भनिन्, 'टाउकोमा हानेको लाठ्ठी नरोकेको भए म मर्थेँ होला। लाठ्ठी रोक्दा हात भाँचियो।'
त्यही बेला वडाअध्यक्ष आइपुगे। लगातार लठ्ठी बर्साइरहेका मेहफुज भाग्यो। अनि उषा बाँचिन्। जीवन माया मारिसकेकी उषा लठ्ठीको पीडा बिर्सिएर खुशीले भक्कानो छोडेर रुन थालिन्।
अहिले मेरिटेक अस्पतालमा उषाको उपचार भइरहेको छ। शरीरमा लागेका चोटहरु कम हुँदै गएको छ। 'मेहफुजलाई त प्रहरी पक्राउ गरिसक्यो। मलाई वर्थिङ सेन्टरको स्विपर र पालेमाथि नि शंका छ भोलि गएर प्रहरीमा उजुरी दिन्छु,' उषाले भनिन्, 'मानव अधिकार आयोगमा उजुरी दिएपछि मात्रै यो घटना मिडियामा आयो। नत्र कसैलाई थाहा नहुने रहेछ।'