PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विवादमा टोपी दिवस, अभियान्ता भन्छन्  'ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस'



सहयोग रञ्जित

विवादमा टोपी दिवस, अभियान्ता भन्छन्  'ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस'

'टोपी दिवस रे ! अब बख्खु दिवस! धोती दिवस!.... संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसंस्कृति स्विकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज?'

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सन् २०१७ जनवरी १ तारिखमा ट्विट गर्दै प्रश्न गरे।

ट्विट लगत्तै उनको तर्कको विरोध भयो। प्रयोगकर्ताहरूले बाबुरामले किशोर अवस्थामा टोपी लगाएको फोटो रिट्वीट गरे। प्रधानमन्त्रीको शपथ लिँदा 'कोट पाइन्टमा भादगाउँले टोपी' लगाएको सम्झाए। टोपीले के बिगारेको छ भनेर उनको विरोध गर्नेको लर्को लाग्यो। टोपी दिवसले एकल जातीयता हाबी हुने भन्दै समर्थन गर्नेहरू पनि देखा परे। टोपी दिवसको विरोध त्योभन्दा पहिल्यै पनि नभएको होइन।

 

सन्दर्भ थियो, जनवरी १ मा नागरिक स्तरबाट स्वतस्फूर्त रूपमा मनाइन थालिएको 'टोपी दिवस'।

करिब ६ वर्ष भयो, जनवरी १ मा 'ह्यापी न्यू एयर' सँगै 'ढाका टोपी दिवसको शुभकामना' भनेर सन्देश आदानप्रदान गर्न थालिएको।

आजकल जनवरी १ भन्दा अघि नै मानिसहरू ढाका टोपी लगाएको आफ्नो फोटो सामाजिक सञ्जालमा राख्दै 'ढाका टोपी दिवसको शुभकामना' दिन थालेका छन्।

माइतीघर मण्डलामा भेला भएर सरकारलाई 'जनवरी १ लाई टोपी दिवस घोषणा गर्न' आह्वान गरिरहेका छन्।

तर टोपीलाई राष्ट्रिय पहिचानको मान्यता दिने अभियान सुरुवात गरेका युवाहरू मानिसहरुबीच टोपी दिवसलाई लिएर भ्रम रहेकोमा असन्तुष्ट छन्।

भन्छन्' ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस भनौँ।' 

'ढाका टोपीलाई मात्र हाम्रीले प्राथमिक्ता दिएको जस्तो कुरा सञ्चार माध्यम र जनमानसमा देखियो। यसबाट अरू टोपीहरूको अवमूल्यन भएको भन्ने आरोपसम्म लाग्यो। तर हामीले कहिल्यै ढाका टोपी दिवस भनेनौँ। हाम्रो माग भनेको जनवरी १ लाई नेपाली टोपी दिवस घोषणा गरियोस् भन्ने हो।' विगत १८ वर्षे देखि भादगाउँले टोपी लगाउँदै आएका अभियान्ता ज्ञानमणि नेपाल (कालो टोपी)ले बताए।

मानिसहरू वैज्ञानिक आविष्कारप्रति आकर्षित हुँदै गएका छन्। तर उनीहरूको पहिचान त्यस्ता आविष्कारले हुँदैन। उ सँग भएको संस्कार,संस्कृतिले उसको व्यक्तिवको वर्णन गर्छ। नेपाली टोपी पनि नेपालीहरूको पहिचान झल्काउने संस्कृति रहेको बताउँछन् ज्ञानमणि।

ढाका टोपी र भादगाउँले टोपीले विश्व सामु नेपालीहरूलाई नेपालीका रूपमा स्थापित गराएको उनको तर्क छ। भन्छन्, 'टोपी हाम्रो शिरको गरिमा हो, शोभा हो। ढाका र भादगाउँले टोपी लगाएर विदेशमा हिँडे ऊ नेपाली हो भनेर सजिलै चिनिन्छ। त्यसैले त देशमा मात्रै नभएर विदेशमा समेत भादगाउँले र पाल्पाली टोपीको माग धेरै छ। अन्तर्राष्ट्रिय खेलमा टोपी लगाएर मानिसहरू नेपालको समर्थन गर्न जान्छन्।'

ज्ञानमणिका अनुसार नेपाली टोपीले कुनै जातको प्रतिनिधित्व गर्दैन। भन्छन्, नेपाली टोपी भनेको ढाका टोपी मात्रै होइन।  सबै जातिले लगाउने टोपी नेपाली टोपी हो। ढाका टोपीलाई एकल जातीय अर्थात् क्षेत्री बाहुन र पहाडी समुदायको मात्रै पहिचानका रूपमा आलोचना भएकोमा उनले आपत्ति जनाए। भने, 'यो टोपी हरेक समुदायले लगाउँदै आएका छन्। यो टोपीले नेपालको भौगोलिक संरचनाको व्याख्या गरेको छ। चुचो भागले हिमाली, बीचको भिरालो भागले पहाड र तलको गोलो समथर भागले तराई क्षेत्रको प्रतिनिधित्व गर्छ।'

'हिमाली, पहाडी र तराई क्षेत्रमा लगाइने विभिन्न टोपी लगाएर यो दिवस मनाउँ। यो ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस हो।' मान्छेहरूलाई यसबारे बुझाउन नसक्नुमा आफूहरूको पनि कमजोरी रहेको बताउँदै उनले भने। 

कसरी सुरु भयो टोपी दिवस अभियान ?

राष्ट्रिय टोपी दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिलाउने अभियान सुरु हुनुको कारण बाबुराम भट्टराई प्रधानमन्त्री रहँदाको एउटा निर्णय हो- सयौँ वर्षदेखि प्रचलनमा रहेको दौरा, सुरुवाल, टोपी, गुन्यू चोलोलाई राष्ट्रिय पोसाकको सूचीबाट हटाउनु।

त्यो निर्णयले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा सबैको पहिरनलाई राष्ट्रिय मान्यता दिएकोमा धेरैले स्वागत गरे। तर विरोधका स्वर पनि चर्कैसँग सुनियो। केही व्यक्तिहरूले दौरा सुरुवालको पहिचान मेटाउन खोजेको भन्दै बाबुरामको विरोध गरे। तर धर्मनिरपेक्ष राष्ट्रमा कुनै एकल पहिरनले आधिपत्य जमाउन नहुने तर्कहरू समेत सुनिए।

दौरा सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाएकोमा निराश केही युवाहरूले नेपाली टोपीलाई भए पनि राष्ट्रिय पहिचानको मान्यता दिनुपर्ने मागसहित सामाजिक सञ्जालमा देखा परे। ज्ञानमणि नेपाल, रामजी बलामी लगायतका युवाहरूले ६ वर्ष अघि नेपाली टोपी दिवस मनाऔँ भनेर फेसबुकमा स्ट्याटस लेखे।

उनीहरूको निष्कर्ष थियो,' धर्म निरपेक्षतापछि राष्ट्रिय पहिचानलाई विस्थापित गर्ने प्रयास भइरहेको छ।'

कतिले त्यो प्रयासलाई व्यर्थको प्रयास भने त कतिले साथ दिए। सुरुवातका दुई वर्षसम्म उनीहरूले फेसबुकमा टोपी लगाएर फोटो पोस्ट गरे। उनीहरूले सुरु गरेको अभियानमा धेरै मान्छेले समर्थन गरे। फेसबुकमा पाल्पाली ढाका टोपी र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा राष्ट्रिय टोपी दिवसको अभियानलाई समर्थन गरे।

त्यो देखेर उनीहरूमा हौसला बढ्यो। १० जनाको समूह बन्यो र दर्ता भयो 'जागरुक युवा अभियान नेपाल' संस्था। संस्थामा बाह्मण, नेवार, मुसलमान समेतको सहभागिता छ।

दुर्ई वर्षसम्म फेसबुकमा सीमित रहेको राष्ट्रिय टोपी दिवस २०७१ सालमा आएर माइतीघर मण्डलामा अभियानका रूपमा सुरु भयो। विगत ६ वर्षदेखि नागरिक स्तरबाट थालनी भएको राष्ट्रिय टोपी दिवस इस्वी संवतको नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा युवाहरू स्वतस्फूर्त रूपमा भेला भई मनाइँन थालियो। नेपालमा मात्रै होइन, विदेशमा समेत नयाँ नेपालको नयाँ दिवस 'टोपी दिवस' मनाउन थालियो।

नाम भने 'राष्ट्रिय टोपी दिवस' तर त्यसलाई जनवरी १ तारिखमा मनाउने संस्कृतिको विरोध नभएको होइन।

नेपाली संवतमै मनाए हुन्न भन्ने प्रश्नमा अभियान्ता रामजी बलामी भन्छन्' नयाँ पुस्ताले पश्चिमेली संस्कृति सिको गर्ने थाले। नेपाली नयाँ वर्षमा समेत' ह्यापी न्यू एयर' भन्न थाले। हाम्रो पहिरनमात्रै होइन भाषा नै सङ्कटमा पर्‍यो। त्यसैले अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि जनवरी १ तारिखमा नै नेपाली टोपी दिवस मनाउने हामीले निधो गर्‍यौँ। यसको मतलब अङ्ग्रेजी नयाँ वर्षको विरोधमा नेपाली टोपी दिवस भन्ने होइन।'

विरोध गर्ने जहाँ नि हुने भन्दै बलामीले भने, ' यो अभियान सुरु भएपछि महिलाले टोपी लगाएर फोटो राख्न थाले। माइतीघरमा आउन थाले। मानिसहरूले त्यसको समेत विरोध गरे। हाम्रो सामाजिक चेतना यहीबाट थाहा हुन्छ।'

आफूलाई पनि महिलाले टोपी लगाएको देख्दा पहिला अचम्म लागेको तर त्यसलाई उनीहरूको आफ्नो राष्ट्रियताप्रतिको मायाका रूपमा बुझेको उनले बताए।

ज्ञानमणिले महिलाहरूले टोपी प्रयोग जंगबहादुरको समयदेखि गर्न थालेको दाबी गर्दै भने,' तिहारमा दिदीबहिनीहरूले आफ्ना दाइभाइलाई टोपी उपहार दिन्छन्। जंगबहादुरकी बहिनी डम्बर कुमारीले तिहारमा भाइलाई खुसी बनाउन टोपी उपहार दिएको कथन छ। त्यो बेला कुमारीले आफैंले पनि टोपी लगाएको इतिहास छ।'

'एक पत्रकारले त महिलाहरूले टोपी लगाएकोमा महिलाहरूको विरोध गर्दै सामाजिक सञ्जालमा अपशब्द नै प्रयोग गरेको' उनीहरू बताउँछन्। भन्छन्,'शिरको शोभाका लागि लगाइने टोपीलाई एउटा लिंगको सम्पत्तिको रूपमा व्याख्या गर्नु उचित होइन।'

जागरुक युवा अभियान नेपालले ‘नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ नाराका साथ यसपटक नेपाली टोपी दिवस  मनाउन आह्वान गरेको थियो। फलस्वरूप आज अभियानको आयोजनामा मात्र नभई देशविदेशमा विभिन्न संघसंस्थाले नेपाली टोपी लगाएर 'नागरिकबाट स्वघोषित दिवस' मनाउँदैछन्।

आज जनवरी १, २०१९ मा माइतीघर मण्डलामा यसपटक भने सम्भवतः 'हालसम्मै कै ठुलो नेपाली टोपी' प्रदर्शन गरी राष्ट्रिय टोपी दिवस मनाइँदैछ। पहिलाका वर्ष भने कार्यक्रम माइतीघरमा भेला हुने र बानेश्वरसम्म र्‍याली गर्नमा सीमित थियो।

छैटौँ नेपाली टोपी दिवस मनाइरहँदा सयौँ वर्षदेखि नेपाललाई र नेपालीलाई चिनाउँदै आएको ढाका र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गरियोस् भन्ने माग अभियान्ताहरुको रहेको छ। 

धर्मनिरपेक्ष नेपालमा जनस्तरमा टोपी दिवसप्रति देखिएको दुविधालाई हटाउन उनीहरूले यो दिवसलाई 'ढाका टोपी दिवस' का रूपमा नभई 'नेपाली टोपी दिवस' का रूपमा मनाउन सबैलाई विशेष आह्वान समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell