PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

विश्व च्याम्पियन महेश्वरलाई नेपाल शारीरिक सुगठन संघको नगद सम्मान



पहिलोपोस्ट

विश्व च्याम्पियन महेश्वरलाई नेपाल शारीरिक सुगठन संघको नगद सम्मान

काठमाडौं : विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका बडिबिल्डर महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन्।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्व घोषित निर्णय अनुसार महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन्। अध्यक्ष श्रेष्ठले पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैगरी अन्य विभिन्न संघ-संस्थाले व्यक्तिले पनि महेश्वरलाई नगदसहित सम्मान गरे।

फिट्नस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालले १ लाख २० हजार,शारीरिक सुगठन संघका सदस्य मोहनकृष्ण श्रेष्ठले ५१ हजार, शारीरिक सुगठन संघका प्रथम उपाध्यक्ष एवं पूर्व एआईजी विजयलाल कायस्थ, शारीरिक सुगठन संघका उपाध्यक्ष राजेश उपाध्याय र डिभाइन फिजिकल फिट्नेस सेन्टरले समान ५० हजार, आरभ मल्टीनेसन प्रा.लि.की रज्जु रन्जितकार तथा शारीरिक सुगठन संघका कोषाध्यक्ष सागर बगालेले समान २५ हजार नगद पुरस्कार महेश्वरलाई उपलब्ध गराएका थिए।

शारीरिक सुगठनसंग कुनै नाता नभएका गोपी बर्तौलाले पनि फेसबुकबाट थाहा पाएको जानकारीकै भरमा कार्यक्रम स्थलमै महेश्वरलाई नगद ५० हजार दिएका थिए।

सोही अवसरमा विश्व शारीरिक सुगठनका रजत विजेताद्वय ननिता महर्जन र रुजेश शाहीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। महेश्वरसंगै टिम व्यवस्थापकका रुपमा थाइल्यान्ड गएका श्याम श्रेष्ठ पनि सोही अवसरमा सम्मानित भए। श्याम विश्व शारीरिक सुगठनमा नेपाललाई पदक (कांस्य) दिलाउने पहिलो खेलाडी हुन्।

थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। महेश्वरले जितेको उक्त स्वर्ण नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो हो। विश्व शारीरिक सुगठनको फरक संस्करणमा ननिता महर्जन तथा रुजेश शाहीले रजतसम्म जितेका थिए।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन्। महेश्वरले भुटानमा भएको ५० औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ताहचल निवासी ३५ वर्षीय महेश्वर ११औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन्। महेश्वरलाई शनिबार शुभतारा स्कुलले पनि आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा नगद ५० हजारसहित सम्मान गरेको थियो।

कार्यक्रममा महेश्वरले सम्मानले भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा मिलेको बताउदै सम्मान गर्ने सबैलाई धन्यवाद दिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell