PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

बंगलादेश जानुअघिको अन्तिम बीबीएल खेल खेल्दै सन्दीप लामिछाने, प्रतिक्षा मेलवर्न डर्बीको



पहिलोपोस्ट

बंगलादेश जानुअघिको अन्तिम बीबीएल खेल खेल्दै सन्दीप लामिछाने, प्रतिक्षा मेलवर्न डर्बीको

काठमाडौँ : अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) अन्तर्गत आज मेलवर्न डर्वी खेल हुँदैछ। नेपालका युवा स्टार सन्दीप लामिछानेको सम्मिलित टोली मेलवर्न स्टार्सले मेलवर्न रेनेगाड्ससँग खेल्नेछ।

खेल नेपाली समयअनुसार दिउँसो २ बजे स्टार्सको घरेलु मैदान मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ।

सन्दीपको लागि बीबीएलमा यो लगातार चौथो खेल हुनेछ। दुई वर्षअघि बीबीएललाई ड्रिम लिग मानेका सन्दीपले यस सिजन त्यही लिगमा डेब्यु गर्ने मौका पाए र अघिल्ला तीन खेलमा शानदार प्रदर्शन गर्दै आफ्नो उपस्थितीलाई प्रमाणित गरिसकेका छन्।

सन्दीपले ३ खेलबाट ७ विकेट लिइसकेका छन् र सर्वाधिक विकेटटेकरको लिस्टमा अगाडी छन्। तर रेनेगाड्स विरुद्को आजको खेलपछि सन्दीपले करिब एक महिना बीबीएल गुमाउनेछन्।

उनी यही जनवरी ५ बाट सुरु हुने बंगलादेश प्रिमियर लिग खेल्न भोली नै बंगलादेश जाँदैछन्। डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्सबाट सन्दीपले बीपीएलमा खेल्दैछन्।

बीबीएल भन्दा अघि नै बीपीएलमा सम्झौता गरिसकेकाले सन्दीप बंगलादेश जान लागेको उनले यसअघि नै प्रष्ट पारिसकेका छन्।

यस्तै जनवरी अन्तिम साता देखि नेपालको राष्ट्रिय क्रिकेट टिमले करिब दुई साता लामो युएई टुर गर्ने भएकाले सन्दीपले बीपीएल पनि पुरै खेल्न नपाउने सम्भावना छ। युएई विरुद्ध हुने सिरिजका लागि घोषित प्रारम्भिक नेपाली टोलीमा सन्दीप पनि समावेश छन् र उनले यसअघि नै बीचमा नेपालको सिरिज परेमा आफू खेल्न आउने जानकारी गराइसकेका छन्।

सन्दीपको टोली स्टार्सले यस सिजन बीबीएलमा तीन खेल खेल्दा २ मा हार र एकमा जितको नतिजा निकालेको छ। पहिलो खेलमा सिड्नी थण्ड र दोस्रो खेलमा होबार्ट हुरिकेनसँग हारेको स्टार्सले तेस्रो खेमेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै पहिलो जित हात पारेको थियो।

सन्दीपले भने तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार विकेट लिइरहेका छन्। उनले बीबीएल डेब्यु खेलमा थण्डरविरुद्ध २ विकेट लिए भने होबार्ट विरुद्ध ३ तथा सिक्सर्स विरुद्ध २ विकेट लिए।

संयोग के छ भने सन्दीपले तीनवटै खेलमा कप्तानको विकेट लिइकसेका छन्। उनले थण्डरका शेन वाट्सन, होबार्टका म्याथ्यु वेड र सिक्सर्समा मोइसिस अनरिकेलाई आउट गरेका हुन्।

डेब्यु सिजनमै उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले अहिले अष्ट्रेलियामा धेरै समर्थक र प्रशंसकहरु पाइसकेका छन्। मेलवर्नमा रहेका नेपाली समर्थकहरु पनि सन्दीपको खेल हेर्ने अवसरलाई छुटाउँदैनन्। मेलवर्न स्टार्स स्वंयमले समेत मेलवर्न डर्बीका लागि नेपाली समर्थकहरुलाई विशेष छुटका साथ टिकट उपलब्ध गराएको थियो।

यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पनि सन्दीपको खेल हेर्न मेलवर्न पुग्नेछन्। अष्ट्रेलियाको विभिन्न सहरमा हुने क्रिकेट फेस्टिभलका लागि पारसससँगै दिपेन्द्र सिंह ऐरी र सुवास प्रधान पनि हाल अष्ट्रेलियामा छन्। सोमवार भएको मिडिया कन्फेरेन्समा समेत पारस उपस्थित भएका थिए। सन्दीपले पारसलाई नेपालको कप्तान भनेर परिचय समेत गराएका थिए। जहाँ पारसले सन्दीपले नेपाललाई नै प्रतिनिधित्व गरिरहेको बताएका थिए।

पारसले नेपालको अबको लक्ष्य टेष्ट खेल्ने राष्ट्र बन्ने रहेको समेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell