काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) सँगको सहकार्यमा नेपालमै पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल सुपर लिग (एनएसए) नाम दिइएको उक्त प्रतियोगिता अर्को वर्षको बैशाख-जेठमा आयोजना गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
एनएसएल आयोजनाका लागि एन्फाले एनएसइमसँग मंगलवार सम्झौता समेत गरेको छ। सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र एनएसइएमका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे।
चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर समेत रहेका चौधरीले फुटबलमार्फ देशको युवाहरुको विकासमा सहयोग गर्न चाहेको बताए।
एन्फाले यो सम्झौतालाई ऐतिहासिक मानेको छ र यसले नेपाली फुटबल विकासमा सहयोग गर्ने उनीहरुको विश्वास छ। यस्तै ग्रासरुट लेभलबाटै फुटबलको विकास गर्न भन्दै एन्फाले स्कुल लिग समेत गर्ने भएको छ।
'हामीले एनएसइएमसँग दुई प्रतियोगिताको लागि सम्झौता गरेका छौँ। एउटा एनएसएल, अर्को स्कुल लिग। ग्रासरुट फुटबल विकासको लागि हामीले देशको विभिन्न ११ शहरमा स्कुल लिग गर्ने भएका छौँ।' एन्फा अध्यक्ष शेर्पाले भने।
एनएसएलको आयोजना र प्राविधिक पक्षहरु एन्फाले हेर्ने र प्रतियोगिताको तयारी तथा व्यवस्थापन लगायत विषयहरु एनएसइएमले हेर्ने छ। एनएसइएमले सम्बन्धित प्रदेशका कर्पोरेट हाउसहरुसँग सहकार्य समेत गर्ने विज्ञप्तीमा जनाइएको छ।
भारतमा भएको आइएसलकै शैलीमा हुन लागेको यस प्रतियोगितामा नेपालको सात प्रदेशबाट ७ टिमले प्रतिस्पर्धा गर्ने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए।
एनएसएलमा सात प्रदेशको ७ टिमले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि प्लेअफ र फाइनल खेल हुनेछ। राउण्ड रोविनमा २१ र प्लेअफमा ४ गरी कूल २५ खेल हुने एन्फाले जनाएको छ। प्रतियोगिताको खेलहरु न्यूनतम भौतिक पूर्वाधार भएको प्रदेशमा गर्ने समेत एन्फाले जनाएको छ।
'हामीले योजना बनाएर नै एनएसएल गर्न लागेका हौँ। यसमा कुनै हतार गरेका छैनौँ। अर्को वर्ष बैशाख-जेठमा यो टुर्नामेन्ट हुन्छ।' एनएसएलको तयारीबारे एन्फा अध्यक्ष शेर्पाले भने। उनले यसका लागि ए डिभिजन क्लबहरुसाग समेत कुरा गरिसकेको बताए।
एनएसएलका लागि ए डिभिजनका १४ क्लबबाट उत्कृष्ट १४० खेलाडी छनोट गर्ने र त्यसलाई ७ प्रदेशको टिममा बाँडेर प्रतियोगिता खेलाइने एन्फाको योजना छ।
'पहिलो संस्करणमा हामी यही खेलाडीहरुलाई टिममा बाँडेर खेलाउँछौँ। दोस्रो संस्करणदेखि खेलाडीको अक्सन गरेर प्रतियोगिता गर्ने योजना छ।' शेर्पाले भने।
उनले एनएसइएमसँग आर्थिक लगायत अन्य विषयमा सम्झौता हुन बाँकी नै रहेको र केही समयपछि त्यसबारे पनि छलफल गरेर सम्झौता गर्ने बताए।
एनएसइएमका अध्यक्ष निर्वाण चौधरीले एन्फा अध्यक्ष शेर्पासाग भेट भएको छोटो समयमै आफूहरु फुटबल विकासको लागि सहकार्य गर्न तयार भएको बताए। 'हाम्रो उदेश्य भनेको देशको युथहरुको विकास कसरी गर्ने भन्ने हो। त्यसको माध्यम खेलकुद नै हो र युथ विकासमा फोकस हुनकै लागि हामीले एन्फासँग सहकार्य गरेका हौँ।' चौधरीले भने।
'म चौधरी ग्रुपबाट भन्दा पनि व्यक्तिगत रुपमा युथ भएर फुटबलमा जोडिन चाहन्छु।'
'एन्फासँग सहकार्य गरेर पुटबलको विकासको लागि योगदान दिन पाउँदा म खुशी छु।'
'१५ वर्ष अगाडी क्रिकेट लोकप्रिय नभइसकेको अवस्थामा पनि हामीले नेपालको क्रिकेटलाई सहयोग गरेका थियौँ। अहिले क्रिकेटमा धेरै विकास भइसकेको छ।'
यसैगरी स्कुल लिगको सुरुवात पनि अर्को वर्ष बैशाखमा गर्ने र माघ-फागुनमा सकाउने लक्ष्य रहेको एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए। 'हामी विद्यार्थीको पढाईलाई असर नपुग्ने गरी छुट्टीको समयमा यो प्रतियोगिता गर्छौँ। हाम्रो टार्गेट भनेको देशभरको विद्यार्थीमाझ पुग्ने हो। स्कुल लिगबाट ३०-४० जना फुटबलर जन्माउन सक्यौँ भनेपनि ठूलो उपलब्धी हुनेछ हुनेछ। एन्फासँगै स्कुलहरुले समेत स्कुल लिगबाट खेलाडी स्काउट गर्न सक्छन्।' एन्फा अध्यक्ष शेर्पाले भने।
एनएसएल लोगो