
काठमाडौँ : नेपाली फुटबलमा रहेका तीन विभागीय टोलीमध्ये सशस्त्र प्रहरी बलको एपीएफ अब्बल ठहरिएको छ।
काठमाडौँ र ललितपुरमा भइरहेको शहिद स्मारक ए डिभिजन लिगमा एपीएफले अन्य दुई विभागीय क्बलाई हराउँदै आफूलँ बलियो प्रमाणित गरेको हो। लिगको सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको एपीएफले १२ खेल खेल्दा ६ खेलमा जित हात पार्दै शीर्ष पाँचमा पर्ने सम्भावना बलियो बनाएको छ।
लिग अन्तर्गत मंगलवार भएको खेलमा एपीएफले पुलिसलाई ४-१ ले हरायो। यसअघि एपीएफले आर्मीलाई २-१ ले पराजित गरेको थियो।
हलचोकस्थित आफ्नै मैदानमा एपीएफले पुलिसलाई खेलको सुरुवातदेखि नै दबाबमा राख्दै लगातार ३ गोल गरेको थियो। एपीएफको जितमा युवराज खड्काले दुई गोल गरे।
खेलको २०औँ मिनेटमै राजेन्द्र रावेलले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। २८औँ मिनेटमा हरी कार्कीले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे। ४३औँ मिनेटमा युवराज खड्काले व्यक्तिगत पहिलो गोल गरेपछि एपीएफले ३-० को अग्रता बनायो। पहिलो हाफको इन्जुरी टाइममा पुलिसका अजित भण्डारीले गोल गर्दै गोल अन्तर कम पारे।
पहिलो हाफमै चार गोल भएको खेलको दोस्रो हाफमा एपीएफले एक गोल थप्यो। ८५औँ मिनेटमा युवराजले व्यक्तिगत दोस्रो गोल गरेपनि एपीएफले ४-१ को शानदार जित हात पारेको हो।
जितपछि १२ खेलबाट २० अंक जोडेको एपीएफ अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। समान खेलबाट एपीएफ भन्दा एक अंक बढी जोडेको अर्को विभागीय क्लब आर्मी चौथो स्थानमा छ।
सिजनको चौथो हारपछि १२ खेलबाट १८ अंक रहेको पुलिस छैटौँ स्थानमा झरेको छ।
यस्तै मंगलावारै एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा इन्जुरी टाइममा गोल गर्दै सरस्वती युथ क्लबले च्यासल युथ क्लब विरुद्ध पुनरागमन जित हात पारेको छ।
एक गोलले पछि परेको स्थिती उल्टाउदै सरस्वतीले च्यासललाई २-१ ले हरायो। ८६ मिनेटसम्म अग्रता लिएको च्यासलले भने त्यसलाई कायम गर्न नसक्दा हार बेहोर्न बाध्य भयो।
१४औँ मिनेटमा सजिन थापा मगरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। तर खेलको ८६औँ मिनेटमा सरस्वतीका मनिस थापाले गोल गर्दै खेल बराबरी गरे।
इन्जुरी टाइममा विदेशी खेलाडी फ्रान्सिस ओकेचुकुले गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाए।
जितपछि १२ खेलबाट १३ अंक जोड्दै सरस्वती नवौँ स्थानमा उक्लेको छ। समान खेलबाट १५ अंक रहेको च्यासल आठौँ स्थानमा यथावत छ।