PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बीबीएल : सन्दीपको टोलीको दोस्रो जित, स्टोइनिसको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

बीबीएल : सन्दीपको टोलीको दोस्रो जित, स्टोइनिसको अलराउण्ड प्रदर्शन

काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा दोस्रो जित हात पारेको छ।

मेलवर्न डर्बीमा स्टार्सले रेनेगाड्सलाई ७ विकेटले पराजित गरेको हो। रेनेगाड्सले दिएको १३९ रनको लक्ष्य स्टार्सले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो।

उक्त खेलमा सन्दीपले १ विकेट लिए। उनले रेनेगाड्का कप्तान टम कुपरलाई आउट गरे। ड्वाने ब्राभोले ३ तथा मार्कुस स्टोइनिस र स्कट बोल्याण्डले २-२ विकेट लिएपछि स्टार्सले रेनेगाड्सलाई १३८-९ मा रोकेको थियो। रेनेगाड्सका लागि डान क्रिस्टियन सर्वाधिक ३२ रन बनाए।

स्टोइनिसले ओपनिङ गर्दै अर्धशतक प्रहार गरेपछि स्टार्सले लगातार दोस्रो खेलमा जित हात पारेको हो। त्यसअघि स्टार्सले सुरुवाती लगातार दुई खेल हारेका थिए।

स्टोइनिसले ४९ बल खेल्दै ४ चौका र ४ छक्काको मद्दतमा ७८ रन बनाए। यस्तै कप्तान ग्लेन म्याक्सवेलले ३३ र बेन डंकले ३२ रन जोडे। म्याक्सवेलले २२ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे।

स्टोइनिस र डंकले पहिलो विकेटका लागि ६७ रनको साजेदारी गरे भने स्टोइनिसले तेस्रो विकेटका लागि म्याक्सवेलसँग ६५ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।

रेनेगाड्सका लागि क्यामरुन बोएसले २ विकेट लिए।

जितपछि ४ खेलबाट ४ अंङ्क जोडेको स्टार्स अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। समान अंक भएका सिड्नी थण्डर, एडेलेइड स्टाइकर्स र रेनेगाड्सलाई मेलवर्न स्टार्सले रनरेटमा पछि पारेको हो। ४ खेलबाट ४ खेल नै जित्दै ८ अंक जोडेको होबार्ट हुरिकेन पहिलो स्थानमा छ भने ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell