PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

२०१८ मा सर्वाधिक सफल ५ फिल्म कुन? विश्लेषक मनीष पण्डितको यस्तो छ रेटिङ



रीना मोक्तान

२०१८ मा सर्वाधिक सफल ५ फिल्म कुन? विश्लेषक मनीष पण्डितको यस्तो छ रेटिङ

नेपालमा वर्षेनी सय भन्दा बढी नेपाली फिल्म निर्माण भइरहेका हुन्छन्। निर्माण भएका सबै प्रदर्शनमा नउत्रिए पनि फिल्म बन्न भने कम भएको छैन। फिल्ममा लगानी गर्नेहरु उतिकै बढेका नै छन्। उता फिल्म निर्देशन गर्न निर्देशकहरु पनि बढेको देखिन्छ। सन् २०१८ नेपाली फिल्म बजारका लागि कस्तो रह्यो त? यसै वर्षबाट बक्स अफिस लागू भएको छ, नेपालमा पनि। तर यकिन तथ्यांक आउन थालेको भने छैन। सन् २०१८ मा सर्वाधिक ५ फिल्महरु कुन हुन् भनेर हामीले बक्स अफिस विश्लेषक मनीष पण्डितलाई सोधेका थियौं। उनको मूल्यांकनअनुसार यी हुन् २०१८ का सर्वाधिक सफल फिल्महरु :


१. 'छक्का पञ्जा ३'

बक्स अफिस विश्लेषक मनीष पण्डितका अनुसार २०१८ का शीर्ष पाँचमा 'छक्का पञ्जा ३' परेको छ। घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको फिल्मले १३ हलमा ५१ औं दिन मनाउन सफल भयो। दोस्रो संस्करणमा पाएको आलोचनालाई टिमले केही हदसम्म तेस्रोमा सुधारेका कुरा चर्चामा रहे।

फिल्मलाई प्रदर्शन ताका अत्याधिक सो दिइएको थियो। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।  

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईं, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामालगायतको अभिनय छ।

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्ममा दीपकराज गिरीको कथा, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, सुनयमान सुजिल कर्माचार्यको पार्श्व संगीत छ। दीपाश्रीले फिल्मलाई कमेडी विथ कन्टेन बताउने गरेकी थिइन्। फिल्मलाई गोपालकाजी कायस्थले वितरण गरेका थिए। फिल्मले विदेश बाहेक २० करोडको व्यापार गरेको उनले दावी गरे।  

२. 'नाईं नभन्नु ल ५'

फिल्म 'नाईं नभन्नु ल ५' मा स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारीको मुख्य अभिनय अभिनय छ। फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्। फिल्ममा सामिप्यराज तिमल्सिना र विकासको कथा रहेको छ। यो फिल्म भदौ ८ मा गतेदेखि प्रदर्शनमा आएको थियो।

फिल्म मार्फत अभिषेक नेपालले डेब्यू गरेका थिए। फिल्ममा बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माले गरेको अभिनयको तारिफ भएको थियो। फिल्ममा दिलिप, निरुता, केकी, प्रियंका, स्वस्तिमासँगै जयनन्द लामा, बुद्धि तामाङलगायतको अभिनय छ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ। फिल्मले करिब पाँच करोडको व्यापार गरेको फिल्मका लेखकसमेत रहेका पत्रकार सामिप्यराज तिमल्सेनाले बताए।

३. 'जय भोले'

अशोक शर्माको निर्देशनमा बनेको फिल्म हो, 'जय भोले'। फिल्म फूलपातिदेखि प्रदर्शनमा आएको थियो। १२ वर्षपछि निर्देशन फर्केका अशोकको फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङको मुख्य अभिनय छ।

वर्ल्ड र एए ग्रुपको ब्यानरमा बनेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य र रोशन विक्रम भट्टराईको एक्सन छ। निर्देशक अशोक फिल्मले ७ करोडको ग्रस कलेक्सन गरेको दावी गर्छन्।

४.'प्रसाद'

फिल्म 'प्रसाद' प्रदर्शनरत नै छ। दिनेश राउत निर्देशित फिल्ममा पत्रकार सुशील पौडेलको कथा छ। फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय छ। यतिखेर फिल्मले उठाएको विषयवस्तुलाई लिएर बहस नै चल्न थालेको छ। फिल्म मंसिर २१ गतेदेखि प्रदर्शनमा आएको हो।


यसबीच ‍अनमोल केसीको 'कृ', पुजा शर्माको 'रामकहानी'ले व्यापारिक सफल्ताका चर्चा गरेका गरेका थिए। तर यी फिल्महरु २०१८ का शिर्ष पाँचमा पर्न सकेनन्।  

५. 'इन्टु मिन्टु लण्डनमा'

यो फिल्मलाई कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन्। यो उनको निर्देशकिय डेब्यू फिल्म थियो। दर्शकले रुचाएको यस फिल्ममा नव नायक धिरज मगरले साम्राज्ञी राज्य लक्ष्मी शाहसँग स्क्रिन सेयर गरेका थिए। असोज ५ गतेदेखि प्रदर्शनमा आएको फिल्मलाई विदेशमा पनि रुचाइएको छ। प्रज्वल समशेर जबरा र रेनशाको कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतको अभिनय छ। यस फिल्मको छायाँकन नेपाल र युकेमा भएको थियो। आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell