PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

धर्म र राजनीतिलाई एकै ठाउँ नराख्न शेखर कोइरालाको आग्रह, ‘धार्मिक स्वतन्त्रता नै कांग्रेसको चिनारी हो’



अनन्तराज न्यौपाने

धर्म र राजनीतिलाई एकै ठाउँ नराख्न शेखर कोइरालाको आग्रह, ‘धार्मिक स्वतन्त्रता नै कांग्रेसको चिनारी हो’
फाइल फोटो

विराटनगरः नेपाली काङ्ग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा शेखर कोइरालाले धर्म र राजनीतिलाई अलगअलग राखेर हेर्नुपर्ने आग्रह गर्दै एकै ठाउँ राखेर हेर्दा अप्ठ्यारो हुने धारणा प्रकट गरेका छन्।


पार्टीको भर्खरै सम्पन्न महासमितिको बैठकमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर संकलन गरिएको र आधाभन्दा बढी सदस्यले हस्ताक्षर गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य कोइरालाले राजनीति र धर्मलाई अलगअलग राख्न आग्रह गरेका हुन्।


नेपाली कांग्रेसको झन्डामा चार वटा तारामध्ये एक ताराले धार्मिक स्वतन्त्रता जनाउने स्पष्ट पार्दैै डाक्टर कोइरालाले आफू हिन्दु राष्ट्र र धर्म निरपेक्ष कतै नलागी धार्मिक स्वतन्त्रताको पक्षधर रहेको जानकारी दिए।


‘धार्मिक स्वतन्त्रता नै नेपाली कांग्रेसको चिनारी हो’, उनले भने, ‘तर प्रलोभनमा पारेर कसैलाई धर्म परिवर्तन गराउन पाइँदैन। गाई हाम्रो राष्ट्रिय जनावर हो। गोवध गर्न पाइन्न। नेपाली काङ्ग्रेसको दृष्टिकोण यही हुनुपर्छ।’


वीपीले पार्टी गठन गर्दा अत्यन्त बुद्धिमत्तापूर्ण ढङ्गले पार्टीको एक ताराको अर्थ धार्मिक स्वतन्त्रता राख्नुभएको केस शेखरको भनाइ थियो।
विराटनगरस्थित आफ्नै निवासमा मंगलबार स्थानीय संवाददातासित कुरा गर्दै डाक्टर कोइरालाले आफूलाई पनि ३०–४० वर्ष पहिले कसैले प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोजेको प्रसङ्ग बताए।


उनले आफूले एक वर्षदेखि भन्दै आएको पार्टीको ‘अर्ली महाधिवेशन’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे।


‘२०७६ फागुन मसान्तभित्र पार्टीको महाधिवेशन हुनु जरुरी छ नभए सङ्गठन कमजोर हुन्छ’, कोइरालाको कथन थियो, ‘पार्टीमा सभापति बलियो भएर मात्र पुग्दैन। पार्टी साङ्गठनिक रूपमा बलियो हुनुपर्छ।’


संघीय संसद्मा नेपाली काङ्ग्रेस कमजोर रूपमा प्रस्तुत भएको टिप्पणी गर्दै शेखरले वाइड बडी, बुढीगण्डकी, राष्ट्रपतिलाई हेलिकप्टर, एसिया प्यासिफिक मिसनजस्ता विषयमा जसरी कुरा उठाउनु पर्ने हो त्यो नसकेको आरोप लगाए।


उनले संसद्मा कडा रूपमा प्रस्तुत हुन संसदीय दलको नेता नै अगाडि आउनु पर्ने बताए।


कोइरालाले नेपाली कांग्रेसजस्तो दलले रेलिङ भाँच्न जाने होइन संसद्मा सशक्त उपस्थिति देखाउनुपर्ने चर्चा गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell