PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अफगानिस्तान २०२० को टी-२० वर्ल्डकपको सुपर १२ मा सिधै छनोट, श्रीलंका र बंगलादेशले प्रारम्भिक चरणमा खेल्नुपर्ने



पहिलोपोस्ट

अफगानिस्तान २०२० को टी-२० वर्ल्डकपको सुपर १२ मा सिधै छनोट, श्रीलंका र बंगलादेशले प्रारम्भिक चरणमा खेल्नुपर्ने
FILE PHOTO, ICC

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० वर्ल्डकपको सुपर १२ राउण्डका लागि अफगानिस्तान सिधै छनोट भएको छ।

सुपर १२ वर्ल्ड कपको दोस्रो राउण्ड हो। सन् २०१८ को अन्तिममा आइसीसी टी-२० वरीयतामा रहेका शीर्ष आठ टोलीले सिधै अन्तिम चरण खेल्न पाउने प्रावधान अनुसार अफगानिस्तानले यो मौका पाएको हो।

श्रींलका र बंगलादेशलाई टी-२० वरीयतामा पछि पार्दै अफगानिस्तानले सिधै सुपर १२ मा स्थान बनाएको हो। आइसीसीको टी-२० वरीयतामा अफगानिस्तान ९२ अंकसहित आठौँ स्थानमा रहन सफल भएको छ। श्रीलंकाको ८७ तथा बंगलादेशको ७७ अंक छ।

श्रीलंकाका कप्तान लासिथ मालिंगाले सुपर १२ को लागि छनोट नहुनु निराशाजनक रहेपनि श्रीलंका त्यसका लागि पछि छनोट हुनेमा विश्वस्त रहेको बताएका छन्। यस्तै बंगलादेशका कप्तान शकिब अल हशनले पनि सुपर १२ मा अहिले स्थान बनाउन नसकेपछि पहिलो चरण पार गरेर त्यहाँ पुग्ने बताए।

नवौँ स्थानमा रहेको श्रीलंका र दशौँ स्थानको बंगलादेशले भने अन्य ६ टोलीसँग पहिलो चरण खेल्नुपर्नेछ।

दुई समूहमा खेलाइने यस चरणमा दुवैं समूहको शीर्ष दुई टोली सुपर १२ राउण्डमा प्रवेश गर्नेंछन्। जहाँ आइसीसीको शीर्ष ८ वरीयतामा रहेका आयोजक अष्ट्रेलियासहित पाकिस्तान, भारत, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान हुनेछन्। यी ८ र पहिलो चरणबाट छानिएका ४ गरी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरी सुपर १२ मा खेलाइनेछ।

यसैगरी १६ टोलीको सहभागिता रहने २०२० को टी-२० वर्ल्डकपको पहिलो चरणमा पुग्ने बाँकी ६ टोलीको टुङ्गो भने ग्लोबल क्वालिफायरबाट लाग्नेछ। यसमा आइसीसीको अन्य दुई फुल मेम्बर राष्ट्र जिम्वावे र आयरल्याण्डले पनि प्रतिस्पर्धा गर्नेछ।

उक्त ग्लोबल क्वालिफायरमा पुग्ने अभियानमा रहेको नेपालले एसियाली छनोटको पहिलो चरण पार गरिसकेको छ भने अब दोस्रो चरण खेल्न बाँकी छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell