
रुकुम (पश्चिम) : कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो।
फाइनलमा सुर्खेत १४ रनले विजयी भयो। टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो। विजयका लागि भविन सारु मगरले नट आउट ४० र टेक सलामिले पनि ४० रन बनाए।
जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए। १६१ रनको लक्ष्य पछ्याएको जाजरकोटले १४६ रन मात्र बनाउन सक्यो। निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल खडा गरेपनि जित भने हासिल गर्न सकेन।
जाजरकोटका लागि पद्मराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो अङ्कमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो। सुर्खेतका कप्तान रवीन्द्रजङ्ग शाहीले ४ तथा ललित प्याकुरेलले २ विकेट लिए।
विजेता सुर्खेतले नगद एक लाखसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जाजरकोटले ६० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए।
प्रतियोगीताको म्यान अफ द सिरिज कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजङ्ग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए।
उनीहरुलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो। कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। गत पुस १० गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए।
यो जिल्ला र कर्णाली प्रदेशकै हालसम्मको ठूलो क्रिकेट प्रतियोगिता प्रतियोगिता भएको जिल्ला क्रिकेट सङ्घ रुकुमले जनाएको छ। यस प्रतियोगितालाई वर्षेनी निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला क्रिकेट सङ्घ रुकुमका अध्यक्ष बाँठामगरले बताए।