PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

जोशीलाई अब पेशी तोकिन्न : प्रधान न्यायाधीश जबरा, जोशीबाहेक सबैलाई राखेर पहिलो पत्रकार सम्मेलन



पहिलोपोस्ट

जोशीलाई अब पेशी तोकिन्न : प्रधान न्यायाधीश जबरा, जोशीबाहेक सबैलाई राखेर पहिलो पत्रकार सम्मेलन

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसदीय समितिको सम्मान गर्दै न्यायाधीश दीपकराज जोशीलाई आज पेशी नतोकेको प्रस्टिकरण दिएका छन्। पद बहाली गरेपछि पत्रकारहरुसँग कुरा गर्दै जबराले आगामी दिनमा पनि न्यायाधीश जोशीलाई पेशी नतोकिने बताए।

'सार्वभौम संसदीय समितिको सम्मानका लागि मैले पेशी नतोकेको हो,' प्रधान न्यायाधीश जबराले भने, 'मैले संसदीय समितिमा नै समितिको निर्णयको सम्मान गर्छु भनेको थिएँ।'

संसदीय समितिबाट अस्वीकृत भए पनि न्यायाधीश दीपकराज जोशीले मुद्दा हेर्दै आएका छन्। बरिष्ठ न्यायाधीशका हैसियतमा रहँदै आएका जोशीलाई नवनियुक्त प्रधान न्यायाधीश जबराले भने किटेर नै पेशी नतोक्ने बताएका हुन्।

'सम्पूर्ण नागरिकस्तरबाट उठेको प्रश्न, पत्रकार र सेवाग्रहरीले उठाएका प्रश्न तथा कानुन व्यवसायीको मनासयसमेत बुझेर यस्तो निर्णय गरेको हुँ,' जोशीलाई पेशी नतोक्ने जानकारी गराउँदै उनले भने, 'मैले यो प्रधान न्यायाधीशको पदीय हैसियतमा गरेको हुँ।'

उनले व्यक्तिगत रुपमा जोशीसँग कुनै गुनासो नभएको संकेत गरे। 'उहाँ मेरो सहपाठी हो,' उनले भने, 'तर मैले गम्भीर निर्णय लिनुपर्‍यो।' 
प्रधान न्यायाधीशका रुपमा आफूले लिएको निर्णयको बचाउ गर्दै उनले जोशीले अदालतलाई बन्धक नबनाउने अपेक्षा गरेको सुनाए।  

'न्यायाधीशका हिसाबले उहाँले अब अदालतलाई बन्धक बनाउनुहुन्न भन्ने मेरो विश्वास छ,' जबराले भने,'त्यही आधारमा उहाँलाई मैले पेशी तोकिन र भविष्यमा पनि तोक्दिन।'

व्यक्तिभन्दा जनआस्था ठूलो

जोशीकै विषयमा आफ्नो निर्णयलाई थप प्रस्ट्याउँदै उनल व्यक्तिभन्दा संस्था ठूलो हुने बताए। 'अदालतमा कोही व्यक्तिभन्दा ठूलो त्यसमाथिको जनआस्था हुन्छ,' प्रधान न्यायाधीश जबराले भने, 'कतिपय व्यक्ति बाहिरिँदा संस्थाको जनआस्था बलियो हुन्छ, काम अघि बढ्छ भने केही कुरालाई हामीले कम्प्रोमाइज गर्नुपर्छ।'

संसदीय समितिमा भन्दा बढी कन्फिडेन्ट देखिएका प्रधान न्यायाधीश जबराले आज आफ्नो कार्ययोजना पाठ गरेर सुनाएका थिए। उनले सुनाएको कार्ययोजना सुनुवाई समितिमा पेश गरेकै विषय थियो।

'हामीमाथि किताब, कविता, साहित्य जे लेख्नुस् तर तथ्यमा रहेर'

पत्रकारहरुसँग कुरा गर्दै उनले न्यायालय र न्यायाधीश भनेको सार्वजनिक सम्पत्ति भएको बताए। उनले भने, 'हामी सार्वजनिक सम्पत्ती हौं। न्यायाधीशहरुले गरेका आदेश र फैसला पनि सार्वजनिक सम्पत्ति हुन्।'

उनले आदेश र फैसलामाथि प्राज्ञिकरुपमा तथ्यपरक रुपमा जतिपनि छलफल हुन सक्ने बताए। तर लेख्दा तथ्यपूर्ण हुनुपर्ने उनको तर्क थियो। 'तपाईँ न्यायाधीशका विषयमा जतिसुकै कुरा लेख्नुस् तर तथ्य सहित लेख्नुस्,' उनले भने, 'हाम्राबारे किताबै लेख्नुस्। कविता लेख्नुस्। साहित्य जे लेख्नु हुन्छ लेख्नुस् तर तथ्यपरक लेख्नुस्। हामी सार्वजनिक नै हौं।'

'हिन्दुको बेद, मुस्लिमको कुरान र इसाइको बाइबल'

उनले समाजमा अदालतको औचित्य र महत्वमाथि पनि आफ्नो धारणा दिए। 'अदालत भनेको हिन्दुहरुको बेद हो। मुसलमानको कुरान हो। इसाइहरुको बाइबल पनि हो,' उनले भने, 'समग्रमा यो नागरिकको आत्मा हो।' 

त्यसैले न्यायालयलाई बचाउने जिम्मेवारी सबैको भएको उनको तर्क थियो। 'यो संस्था बचाउने दायित्व नागरिक समाज, संचारकर्मी सबैको हो,' प्रधान न्यायाधीश जबराले भने, 'स्वतन्त्र र सक्षम न्यायपालिकाले मात्र तपाईँ हाम्रा उद्देश्य पूरा गर्न सक्छ।' 

सबै साक्षी राखेर पत्रकार सम्मेलन

यसअघि सर्वोच्च अदालतमा पदबहालीपछि प्रधान न्यायाधीशहरुले आफ्नो धारणा राख्ने गर्थे। यसापाला भने केही फरक देखियो। प्रधान न्यायाधीश जबराले आफूसँगै सर्वोच्च अदालतका सबै न्यायाधीश, न्याय परिषद सदस्य र सचिवहरु सबैलाई राखेर पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा न्यायाधीश जोशी भने थिएनन्। इजलासमात्र होइन, जोशी पत्रकार सम्मेलनबाट आउट पारिएका थिए।

'म संसदीय समितिमा जाँदा पनि उहाँहरु सबैसँग सल्लाह लिएर गएको थिएँ। योजना बनाउँदा पनि उहाँहरुसँग सल्लाह गरेर नै गरेको थिएँ,' पत्रकार सम्मेलनमा सबै सहभागी गराइएकोबारे प्रस्ट्याउँदै जबराले भने, 'अहिले पनि त्यही गरेको हुँ। हिजो न्यायाधीशबीच द्वन्द्व भएको भन्ने थियो। त्यस्तो अब हुँदैन।'

कुटनीतिक शैलीमा राजीनामा गर्न आग्रह गरेका जबरालाई शुभकामना दिन भने उनकै कोठामा पुगेका थिए न्यायाधीश दीपकराज जोशी। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell