
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले वाइड बडी जहाज खरीद प्रकरणमा लेखा समिति अन्तर्गतको उप समितिले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक लिन र कारवाही थाल्न माग गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले तत्काल कारवाहीको प्रकृया अगाडि बढाउन सरकारसँग माग गरेको हो।
त्यस्तै कार्यसम्पादन समितिले पुस २७ लाई राष्ट्रिय एकता दिवशका रुपमा मनाउन पार्टी मातहतका सबै तहलाई निर्देशन दिएको छ। एकता दिवशका दिन विदा दिनुपर्ने माग सरकारसँग गरेको छ बैठकले।
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको समितिको विस्तारित बैठकमा फागुन ७ गतेदेखि सञ्चालन हुने हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक छलफल गरेको थियो। केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भातृ संगठनका अध्यक्ष र महासचिवको सहभागिता थियो।