
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७५ सुरु हुनुअघि संकटाले ठूलो लक्ष्य राखेको थिएन। प्रशिक्षक सल्यान खड्गीले संकटालाई लिगको टप फाइभ भित्र पुर्याउने लक्ष्य राखेका थिए।
त्यही संकटाले यस सिजन लिगमा केही ठूला क्लबलाई पराजित गर्यो र अन्डर डगको छवी बनायो। बुधवार भएको १२औँ चरणको खेलमा ४ पटकको लिग विजेता थ्री स्टारलाई २-१ ले पराजित गर्दै संकटाले यस सिजनको लिग दोस्रो स्थानमा रहेर सकाउने भएको छ।
लिगमा अझै एक चरणको खेल बाँकी छ र दोस्रो स्थानको संकटाले तेस्रो स्थानमा रहेको थ्री स्टारलाई ५ अंकले पछाडि पारिसकेको छ।
संकटाले यस सिजन लिगको उपाधि पक्का गरिसकेको मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मीसँग मात्र हार बेहोर्यो भने नेपाल पुलिस, हिमालयन शेर्पा, च्यासल युथ क्लब, थ्री स्टार जस्ता बलिया क्लबलाई समेत हरायो।
एन्फा कम्प्लेक्समा अमित तामाङले दुई गोल गरेपछि संकटाले ललितपुरको थ्री स्टारमाथि पुनरागमन जित हात पारेको हो।
अमितले दुवै गोल पेनाल्टीमा गरेका थिए। यस मानेमा संकटाले हारको संकट टार्न सफल भयो।
खेल अवधीमा संकटाले दुई पेनाल्टी पाएको थियो र अमित तामाङले दुवै पेनाल्टीलाई गोलमा परिणत गरेपछि संकटाले लिगमा दोस्रो स्थान पक्का गरेको हो।
एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको ३०औँ मिनेटमा रन्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकने। ४२औँ मिनेटमा संकटाका अमित तामाङले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे। थ्री स्टारका सुनिल बलले संकटाका खेलाडीलाई फल गरेपछि संकटाले पेनाल्टी पाएको थियो।
६४औँ मिनेटमा पनि संकटाले पेनाल्टी पायो र त्यसमा अमितले नै गोल गर्दै संकटालाई २-१ को अग्रता दिलाए। त्यही पेनाल्टी गोल निर्णायक बन्दा संकटाले लिगमा नवौँ जित हात पार्यो।
१२ खेलपछि ९ जित,१ बराबरी र २ हारको नतिजासहित संकटाले २८ अंक जोडेको छ। सिजनको तेस्रो खेलमा मनाङसँग हारेको थ्री स्टारको भने यस सिजन यो तेस्रो हार हो। थ्री स्टार यसअघि नेपाल पुलिससँग पनि अग्रता जोगाउन नसक्दा पराजित भएको थियो। १२ खेलबाट थ्री स्टारले २३ अंक मात्र जोडेको छ।
गत असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा १२औँ चरणको खेलपछि अपराजित मनाङले शतप्रतिशत नतिजा निकालदै ३६ अंक जोडेको छ। मनाङले यसअघि नै उपाधि पक्का गरिसकेको छ भने अब बाँकी एक खेल जित्दै लिगमा सबै खेल जितेर च्याम्पियन बन्ने नयाँ कीर्तिमान बनाउने लक्ष्यमा छ।
थ्री स्टारलाई पराजित गरेपछि संकटा दोस्रो बनिसकेको छ। अब तेस्रो स्थानको लागि थ्री स्टार (२३) र आर्मी (२२) होडमा छन्।
यस बाहेक शीर्ष पाँचमा रहन दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस पनि होडमा छन्। एपीएफ २० अंकसहित पाँचौ र १८ अंक जोडेको पुलिस छैटौँ स्थानमा छन्।