PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

एकै वर्ष तेस्रो पटक त्रिशूली जलविद्युत केन्द्रमा आगलागी



रासस

बेत्रावती : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ। एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ। 

बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको छ दशमलव छ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए। उनका अनुसार आगलागीले क्षति पुर्‍याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करीब एक साता लाग्ने अनुमान छ। 

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीयवासीलाई एक घण्टाभन्दा बढी समय लागेको थियो। आगलागीका कारण उक्त केन्द्रबाट विद्युत् उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारण लाइनमार्फत गए रातिदेखि विद्युत उपलब्ध गराइएको छ। उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell