
काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित पाँच राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ। समितिले पाँच राजदूतविरुद्ध सरोकारवाला तथा सार्वसाधरणसँग उजुरी माग गरेको छ। समितिले पुस २९ गतेसम्म उजुरी दिन मिल्नेगरि समयसीमा तोकेको छ।
समितिले प्रस्तावित राजदूतहरु ग्णेशप्रसाद ढकाल, मणिप्रसाद भट्टराई भृगु ढुङ्गाना, दीपक अधिकारी र दुर्गाप्रसाद भण्डारीविरुद्ध उजुरी आह्वान गरेको हो।
मन्त्रिपरिषदले ढकाललाई थाइल्याण्ड, भट्टराईलाई स्वीट्जरल्याण्ड, अधिकारीलाई फ्रान्स, ढुङ्गानालाई क्यानाडा तथा भण्डारीलाई कुवेतको राजदूतमा सिफारिस गरेको थियो।
सरोकारवाला तथा सर्वसाधरणले समितिको सचिवालयमा उजुरी दर्ता गर्न सक्नेछन्। यस्तै, इमेल तथा जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिने व्यवस्था समितिले गरेको छ।
समितिले उजुरीको समय सकिएपछि उजुरी प्राप्त भएमा उजुरीकर्तासँग छलफल गर्नेछ। उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित राजदूतलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ।