काठमाडौँः कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन्। बिहीबार चौधरीको सिंहदरबारमा शपथ हुँदैछ। शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ।
स्रोतका अनुसार शपथपछि उनलाई पुनः कारागार नै लगिनेछ। उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्।
संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन्।
सेवा सुविधा रोक्का हुनेछ। भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पाउने छैनन्। प्रतिनिधसभा नियमावलीको २४४(३) अनुसार चौधरी संसद् बैठकमा सहभागी हुन पाउने छैनन्।
यस्तो छ घटनाक्रम
२०७४ फागुन १४ गते चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। कैलाली घटनापछि फरार रहेका चौधरीले अदालतमा आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण गरेकै दिन अदालतले बयान गराई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
पढ्नुस्ः- सांसद रेशम चौधरी पूर्पक्षका लागि जेल चलान
थुनामा रहेका चौधरीले आफूले निर्वाचित भएको प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। ०७४ पुसमा दर्ता रिटमा सर्वोच्चले पनि कानुनी हिसाबले फरार रहेको भन्दै वारेसमार्फत रिट दर्ता अस्वीकार गरेको थियो। चौधरीको रिट दरपीठ भएको थियो।
पढ्नुस्ः- रेशम चौधरीको मुद्दामा सर्वोच्चले भन्यो : अदालती प्रकृया अवज्ञा गर्नेको रिट दर्ता हुन्न
२०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त घटनाका मुख्य योजनाकार चौधरी रहेको मुख्य आरोप छ।
राजपाको निरन्तर दबाब
रेशमलाई शपथ गराउन राजपाले निरन्तर दबाब दिँदै आएको थियो। संसद्को चालु अधिवेशन सुरुवातका दिन पनि राजपा नेता राजेन्द्र महतोले शपथको माग गरेका थिए। प्रमुख विपक्षी दल कांग्रेसका तेजुलाल चौधरीले पनि शपथको माग गरेका थिए।
महतोले नेकपा अध्यक्ष प्रचण्डलाई लक्षित गरी आन्दोलनमा सुरक्षाकर्मीको ज्यान जाने घटनाका जिम्मेवार कोही प्रधानमन्त्री बन्ने कोही सांसद्को शपथ पनि लिन किन नपाउने भनी प्रश्न गरेका थिए।