
काठमाडौँ : नेपाली क्रिकेटको अभिभावक संस्थान नेपाल क्रिकेट संघ क्यान निल्मवनमा रहेको बेला नेपाली क्रिकेटरहरुले नियमित रुपमा तलब पाउन सकेका थिएनन्। अब भने राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीसहित २१ जनाले पछिल्लो दुई वर्षको तलब पाउने भएका छन्।
क्यान आइसीसीको निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीको तलब आइसीसीकै रोहबरमा खेलाडीले प्राप्त गर्न लागेका हुन्। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले पहल गरिरहेको छ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष ९सन् २०१७ र २०१८०को खेलाडीले वर्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताए।
“हामीले आइसिसीसँग पहल गर्यौँ, ऊ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन्”, उनले भने।
चार वर्षअघि क्यानले नेपाली क्रिकेटरलाई ए, बी र सी गरी तीन ग्रेडमा वर्गीकरण गर्दै तलब दिन सुरु गरेको थियो। क्यान निलम्वन भएपछि नेपाली खेलाडीले २०१७ को जनवरीमा एक वर्षको मात्र तलब पाएका थिए। त्यसपछि तलब पाएका थिएनन्।
२०१५ मा क्यानले २२ खेलाडीलाई चार समूहमा वर्षीकरण गरेको थियो। त्यसबेला ए, बी र सी ग्रेडमा समान ६ तथा डी ग्रेडमा ४ जना थिए।
अब नयाँ ग्रेड अनुसार कूल २१ खेलाडीलाई तीन ग्रेडमा विभाजन गरिएको छ। जसअनुसार ए ग्रेडमा रहनेले मासिक ३५ हजार, बी ग्रेडमा रहनेले मासिक २५ र सी ग्रेडमा रहनेले मासिक १५ हजार प्राप्त गर्नेछन्।
नयाँ ग्रेड अनुसार तीनवटै समूहमा समान ७ खेलाडी छन्। ए ग्रेडमा दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने समेत परेका छन्। यस्तै सन्यास लिइसकेका भेट्रान स्पीनर शक्ति गौचन बी ग्रेडमा छन् भने सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी लगायत खेलाडी सी ग्रेडमा छन्।
यसअघिको ग्रेडमा नभएका दिपेन्द्र र सन्दीप ए ग्रेडमा पर्दा सोमपाल बी बाट ए मा बढुवा भएका छन्। ए मा रहेका शक्ति गौचन बी मा झर्दा सुवास खकुरेल सी मा झरेका छन्। बी मा रहेका सागर पुन र विनोद भण्डारीमा सी मा झरेका छन् भने बी मै रहेका नरेश बुढाएर, अमृत भट्टराई र भुवन कार्की नयाँ ग्रेडमा समावेश छैनन्। यस्तै सी मा रहेका आरिफ शेख र डी मा रहेका करण केसी बी ग्रेडमा बढुवा भएका छन्।
कुन ग्रेडका खेलाडीले कति पाउनेछन् तलब?
ए ग्रेड : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामि, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरि - मासिक ३५ हजार (कुल रकम : ८ लाख ४० हजार )
बि ग्रेड : आरिफ शेख, करन केसी, ललित भण्डारी, अनिल शाह, रोहित पौडेल, ललित नारायण राजबंशी, शक्ति गौचन - मासिक २५ हजार (कुल रकम : ६ लाख)
सी ग्रेड : सुबास खकुरेल, विनोद भण्डारी, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, किशोर महतो - मासिक १५ हजार (कुल रकम : ३ लाख ६० हजार)
२०१५ मा क्यानले गरेको वर्गीकरण
ए ग्रेड : पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेषावकर, सुवास खकुरेल
बी ग्रेड : सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी, भुवन कार्की
सी ग्रेड : जितेन्द्र मुखिया, अनिल मण्डल, आरिफ शेख, राहुल विश्वकर्मा, प्रदिप ऐरी, महबुब आलम
डी ग्रेड : करण केसी, राजेश पुलामी, रामनरेश गिरी, राजु रिजाल