PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

न्यायाधीश दीपकराज जोशीको जिम्मेवारी थप खोसियो, हाजिर गर्नेबाहेक सर्वोच्चमा उनको भूमिका समाप्त



पहिलोपोस्ट

न्यायाधीश दीपकराज जोशीको जिम्मेवारी थप खोसियो, हाजिर गर्नेबाहेक सर्वोच्चमा उनको भूमिका समाप्त

काठमाडौं : हिजोबाटै इजलास नतोकिएका न्यायाधीश दीपकराज जोशीले अब सर्वोच्च अदालतमा हाजिर गर्नेबाहेक अन्य भूमिका नपाउने भएका छन्। आज बसेको न्यायपरिषदको बैठकमा उनलाई सामेल गराइएन भने उनले निर्वाह गर्दै आएको वरिष्ठ न्यायधीशको पद पनि खोसुवामा परिसकेको छ।

आज बसेको न्यायपरिषदको बैठकले संवैधानिक इजलास पुनर्गठन गरेको छ। जसअनुसार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संवैधानिक इजलासमा रहने भएका हुन्। 
मेलमिलाप परिषदको अध्यक्ष रहेका न्यायाधीश दीपकराज जोशीलाई त्यसबाट पनि अलग गराउने निर्णय न्यायपरिषदले गरेको छ। जोशीलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रतिस्थापन गर्नेगरी सिफारिस गर्न निर्णय भएको छ। 

यसअघि प्रधान न्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेनन्। न्याय सम्पादनमा उनी सक्रिय नै रहे। तर, चोलेन्द्र शम्शेर जबरा न्यायाधीशमा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनबाट अलग्याइएको छ। संसदीय समितिको सर्वोच्चतालाई आधार मान्दै नव नियुक्त प्रधान न्यायाधीशले उनलाई कुटनीतिक शैलीमा राजिनामाको बाटो देखाइसकेका छन्। 

आज थप भूमिका खोसेपछि सर्वोच्च अदालतमा न्यायाधीश जोशी भूमिकाबिहीन बनेका हुन्। 

आजको न्याय परिषदले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था मिलाउने, उच्च अदालत जनकपुरमा भइरहेको वेथिति नियन्त्रणका लागि सुर्खेतमा रहेका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई पठाउने निर्णय गरेको छ। त्यसैगरी, उच्च अदालत पाटन, हेटौडा इजलासमा मुख्य भइ काम गरिरहेकी न्यायाधीश सुष्मालता माथेमालाई मुख्य न्यायाधीशको पदस्थापनाका लागि प्रधान न्यायाधीश समक्ष सिफारिस गर्ने लगायतका निर्णय गरेको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell