
काठमाडौं : सुदूर पश्चिम प्रदेशसभाका चारवटा समितिका सभापति, प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकले हालसम्मको गाडी भाडा बापतको ३३ लाख रकम माग गरेका छन्।
सभापतिहरुले सपथ खाएदेखिको र प्रमुख प्रतिपक्षी दलका नेता तथा सत्तापक्षका प्रमुख सचेतकले जेठ महिनादेखिको गाडी भाडाका लागि प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन्।
चारवटै समितिका सभापति, विपक्षी दलका नेता र सत्तापक्षको प्रमुख सचेतकलाई सवारी साधन सुविधा दिइने प्रदेशसभाले ऐनमार्फत् नै व्यवस्था गरेको छ। यी ६ जनाका लागि बजेट अभावमा प्रदेशसभा सचिवालयले सवारी साधन खरिद गर्न सकेको छैन। त्यसैले उनीहरुले आफूखुशी निजी सवारी साधन चढ्न थालेका हुन्।
सत्तापक्षका प्रमुख सचेतक तारालामा तामाङ र प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलले जेठ महिनादेखिको गाडी भाडा माग गरेका छन्। चार वटै समितिका सभापतिहरुले असोज २३ गते सपथ लिएका थिए। उनीहरुले पनि असोज २४ गतेदेखिको गाडी भाडा माग गरेका छन्।
सत्तापक्षी दल नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक तामाङले दैनिक ३ हजार ९ सय रुपयाँ पर्ने भाडाको गाडीमा चढ्ने गरेका छन्। जेठ महिनादेखि हालसम्म उनको गाडी भाडा ९ लाख ८ हजार ७ सय रुपयाँ पुगेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रावलले दैनिक ४ हजार रुपयाँ भाडा तिरेर स्कारपियोमा चढ्ने गरेका छन्। जेठ महिनाबाट हालसम्म उनको गाडी भाडा ९ लाख ३२ हजार पुगेको छ।
विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले दैनिक ४ हजार रुपयाँ पर्ने गाडी भाडामा लिएका छन्। सपथ खाएदेखि हालसम्म उनको गाडीभाडा ३ लाख ४० हजार रुपयाँ पुगेको छ। सामाजिक विकास समितिकी सभापति कुन्ती जोशी, सार्वजनिक लेखा समितिकी सभापति नन्दा कुमारी वम, अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सभापति हर्कबहादुर कुँवरले दैनिक ४ हजार ५ सय भाडा पर्ने गाडीमा चढ्ने गरेका छन्। उनीहरुको पनि सपथ खाएदेखि हालसम्मको जनही ३ लाख ८२ हजार ५ सय गाडी भाडा पुगेको छ।
सभापति, सत्तापक्षको प्रमुख सचेतक र प्रतिपक्षी दलको नेताले गाडी भाडा बापतको सो रकम गत महिना देखि नै माग गरेका थिए। तर, प्रदेशसभा सचिवालयमा बजेट अभावका कारण गाडी भाडा रकम दिन नसकेको प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले बताए। गाडी भाडा कहिलेदेखि लिएका हुन, यकिन जानकारी नआए पनि उनिहरुले दिएको निवेदन अनुसार बिदाको दिनको समेत गाडीभाडा माग भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सभापति, प्रमुख प्रतिपक्षी दलको नेता र सत्तापक्षी दलको प्रमुख सचेतकले टेण्डर आवह्वान नगरेरै आफुखुशी निजी गाडी चढिरहेका छन्। ६ वटा गाडीको भाडा तिर्नका लागि मात्रै हालसम्म ३३ लाख २८ हजार २ सय रुपयाँ आवश्यक परेको छ।