PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र तारहरु हटाइयो



सहयोग रञ्जित

बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र तारहरु हटाइयो

काठमाडौं : विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ महाचैत्यमा ठोकिएका किला र बत्ती बाल्नका लागि राखिएको तारहरु निकालिएको छ। 

गत मंसिर २९ गते बिजुली बत्ती बाल्ने भन्दै श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अगुवाइमा 'ड्रिलिङ र क्लिपिङ' गरी किला र तारहरु स्तूप वरिपरि राखिएको थियो। किला ठोकिएपछि स्तूपको महत्व घट्ने र विश्व सम्पदा सूचीबाट बौद्धनाथ हट्न सक्ने भन्दै त्यसकार्यको विरोध भएको थियो।

सम्पदा क्षेत्रमा नै यस्तो भएको देखेपछि त्यहाँका स्थानीयले प्रतिकार गर्न कोसिस गरे पनि त्यसलाई रोक्न सकेनन्। बौद्धनाथ क्षेत्र विकास समितिले त्यसविरुद्ध प्रहरीमा उजुरीसमेत दिएको थियो।

आज काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामा लगायतले ठोकिएका किला निकालेर बौद्ध स्तुपाको सम्बर्द्धन र प्रवर्द्धनको संयुक्त प्रतिवद्धता अभियानको शुभारम्भ गरेका हुन्। 


कार्यक्रममा बोल्दै उपमेयर श्रेष्ठले वर्षौंदेखि जनप्रतिनिधिको अभावमा सम्पदा क्षेत्र अस्तव्यस्त भएको भन्दै अब स्थानीय सरकार बनिसकेको अवस्थामा सम्पदा क्षेत्रमा मनपरी गर्न नपाइने बताइन्। बौद्ध क्षेत्रमा अवलोकन गर्न आउँदा झिलिमिली बत्ती बाल्न किला ठोकिएको देख्दा दुख लागेको भन्दै उनले भनिन्, 'एउटा किला ठोक्न पनि हजारौं पटक सोच्नु पर्छ। नत्र बौद्ध क्षेत्र सम्पदा सूचीबाट हट्न सक्छ। त्यसैले हामी आफैमा चेतनाको विकास हुनुपर्‍यो।'

 
स्थानीय सरकार बनिसकेको अवस्थामा बौद्ध क्षेत्रको विकासका लागि स्थानीय तहलाई बलियो बनाउँदै लैजान स्थानीय गुठि र समितिहरुले वडासँग सम्वन्य गर्नुपर्ने बताइन्। जनप्रतिनिधिहरुलाई अधिकार सम्पन्न बनाउनका लागि स्थानीय स्तरबाटै काम थालनी भए स्थानीय समस्यालाई समाधान गर्न मेयर, उपमेयर नै आउनुपर्ने अवस्था नरहने उनको तर्क थियो। 

बौद्धनाथ स्तुपामा राखिएको जेनेरेटर पनि वडा र सम्पदा बचाउ अभियानको अग्रसरतामा केही दिन अघि हटाइएको थियो। वडा नम्बर ६ का अध्यक्ष दीपेन्द्र लामाले पहिले स्तुपा क्षेत्रमा जे भएको भएता पनि अब सबै मिलेर बौद्ध क्षेत्रको विकास गर्ने बताए। झिलिमिलि बत्ती बाल्न राखिएका तार र किल्लाहरु सबैको सहमतिमा हटाइएको भन्दै उनले बौद्धको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। यस्तै स्तुपाको चारैतिर रहेका घर, रेष्टुराँहरुमा राखिएको वोर्डहरुले बौद्ध क्षेत्र कुरुप भएको भन्दै उनले त्यस्ता वोर्डहरु हटाउन सुरु गरिने र सम्पदा क्षेत्रमा रहेका घरहरुलाई एकरुपता दिने योजना वडाले बनाइरहेको बताए।  


मौलिकतालाई प्रवर्धन गर्ने प्रविधि आत्मसाथ गर्ने भन्दै सम्पदा बचाउ अभियानको नेतृत्व गरिरहेका गणपतिलाल श्रेष्ठले बौद्धलाई सुन्दर बनाउका लागि स्तुपलाई असर नपुग्ने प्रविधिको व्यवस्था गर्ने बताए।


कार्यक्रममा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको प्रमुख उत्तरधर्म गुरु रिम्पोछे चिनियाँ लामा उपस्थित भएनन्। गुठिको प्रतिनिधिका रुपमा आएका लामा विभाग इन्चार्ज सांघे दोर्जे तामाङले सबैको सहमतिमा बत्ती, तार र जेनिरेटर निकालेको बताए। गुठीलाई केही दिन अघि पुरातत्व विभागले स्तुपा क्षेत्रमा राखिएका संरचना हटाउन निर्देशन दिएको थियो।

 हामीसँगको कुरामा गुठी प्रमुख चिनियाँ लामाले पहिला किला रहेको स्थानमा नै किला ठोकिएको बताउँदै पहिला नाङ्गो तार भएकोलाई विस्थापित गर्दै आधुनिक एलइडी बल्ब प्रयोग दाबी गरेका थिए। चौतर्फी विरोध भएपछि उनले बौद्धनाथलाई पर्यटकीय र धार्मिक स्थलका रुपमा परिचित गराउन सबैसँग सम्वन्य गर्दै आधुनिक बिजुली बत्तीको प्रयोग गर्न पछि नपर्ने बताएका थिए।

कार्यक्रममा बौद्ध क्षेत्रमा अब कुनैपनि बहानामा नयाँ किसिमको संरचना बनाउन नदिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो। उपमेयर, वडा अध्यक्ष र सम्पदा क्षेत्र बचाउ अभियानका अभियान्ताहरुले शान्तिको प्रतिकका रुपमा परेवा उडाएका थिए भने संरक्षित प्राचीन स्मारकको संरक्षण र प्रवद्धन गर्ने नाराका साथ बौद्ध स्तुपा परिसरमा विद्यार्थीहरुको मानव साङ्ग्लो बनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell