
प्रिमियर लिग २०१८-१९ को सिजनमा लिभरपुलको अपराजित यात्रा समाप्त भएको छ। गए राति भएको खेलमा साविक विजेता म्यानेष्टर सिटीले लिभरपुललाई २-१ ले पराजित गरेको हो।
२० खेलसम्म अपराजित रहेको लिभरपुलले सिजनको पहिलो हार बेहोरेपछि उपाधि होड फेरि रोमाञ्चक स्थितिमा पुगेको छ। सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदुरी ४ मा झारेको छ।
२१ खेलपछि लिभरपुल ५४ अंककासाथ शीर्ष स्थानमा कायम छ। समान खेलबाट ५० अंक जोडेको सिटीले तेस्रो स्थानको टोटनहममाथि २ अंकको अग्रता कायम गरेको छ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सर्जियो अगुएरोले ४०औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा एक गोल फर्काए पनि हार टार्न सकेन। ६४औँ मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए। तर ७२औँ मिनेटमा लरेय सानेले गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो र त्यसलाई कायम राख्दै खेल जित्यो।