PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

ग्लोब सकर अवार्ड : पोर्चुगिज रोनाल्डो बेस्ट प्लेअर, ब्राजिलियन रोनाल्डोलाई प्लेअर करियर अवार्ड



पहिलोपोस्ट

ग्लोब सकर अवार्ड : पोर्चुगिज रोनाल्डो बेस्ट प्लेअर, ब्राजिलियन रोनाल्डोलाई प्लेअर करियर अवार्ड

इटालियन क्लब युभेन्ट्सबाट खेल्ने पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड मा बेस्ट प्लेअर अफ दि इअरको अवार्ड जितेका छन्।

गत वर्ष उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले उक्त अवार्ड प्राप्त गरेका हुन्। ३३ वर्षीय रोनाल्डोले पाँचौ पटक यस अवार्ड आफ्नो पक्षमा पारेका हुन्। उनले अवार्ड जित्न फ्रान्सलाई वर्ल्डकप जिताएका किलिएन एम्बाप्पे र एन्टोनी ग्रीजमनलाई पछि पारे। रोनाल्डोले पछिल्लो तीन वर्षमा यो अवार्ड लगातार जित्दै ह्याट्रिक समेत गरे। उनले सन् २०११ मा पहिलो र २०१४ मा दोस्रो पटक यो अवार्ड जितेका थिए।

रोनाल्डोले यस सिजन सिरी ए मा युभेन्ट्सका लागि १४ गोल गरिसकेका छन्।

युएईको दुबईस्थित मडिनात जुमेइराहमा बिहीवार भएको अवार्ड समारोहमा रोनाल्डो आफ्नो फियोन्से जर्जिना रोड्रिगेज र छोरा क्रिस्टियनो जुनियरका साथ अवार्ड लिन पुगेका थिए। 'नयाँ वर्षको सुरुवात गर्ने यो कस्तो राम्रो पक्ष। मलाई यसको लागि हकदार बनाउनुभएकोमा धन्यवाद।' रोनाल्डोले अवार्ड ग्रहण पछि भने।

यस्तै रोनाल्डोले उत्कृष्ट गोलको अवार्ड पनि जितेका छन्। गत सिजन रियल मड्रिडमा हुँदा उनले युभेन्ट्स विरुद्ध च्याम्पियन्स लिगमा गरेको गोल उत्कृष्ट घोषित भएको हो।

सोही समारोहमा अर्का रोनाल्डो पनि सम्मिनत भए। ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर तथा वर्ल्डकप विनर रोनाल्डोले प्लेअर करियरको अवार्ड जिते। यस्तै युभेन्ट्सबाट खेल्ने फ्रान्सका ब्लेइस मटुइडीले पनि प्लेअर करियर अवार्ड पाए।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सका डिडियर डेसच्याम्पसले जिते। डेसच्याम्पकै प्रशिक्षणमा फ्रान्जुले जुन-जुलाईमा रसियामा भएको विश्वकपको उपाधि जितेको थियो। उत्कृष्ट क्लबको अवार्ड स्पेनको एट्लेटिको मड्रिडले जित्यो। एट्लेटिकोले दोस्रो पटक उत्कृष्ट क्लबको अवार्ड जित्न स्पेनकै रियल मड्रिड र इंग्ल्याण्डको लिभरपुललाई पछि पारेको हो।

इंग्ल्याण्ड र रसियाको राष्ट्रिय टिम, इटालियन क्लबहरु एसी मिलान, युभेन्ट्स र रोमा तथा स्पानिस क्लब रियल मड्रिडको प्रशिक्षण सम्हालिसकेका इटालियन प्रशिक्षक फाबिलयो कापेलोलाई कोच करियर अवार्ड प्रदान गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell