PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

विरामीको सेवामा अहोरात्र खटिने नर्सहरुलाई यस्तो पीडा : महँगो पढाइ, कम तलब, काम पाउनै धौ धौ



सागर बुढाथोकी

विरामीको सेवामा अहोरात्र खटिने नर्सहरुलाई यस्तो पीडा : महँगो पढाइ, कम तलब, काम पाउनै धौ धौ

सुमित्रा खड्काले नर्सिङ पढ्न सुरु गर्दा सोचेकी थिइन्, 'पढाइ सकेपछि त जागिर फालाफाल। ग्लामरस फिल्ड। आकर्षक तलब र लाइफ सेटल।'

पढाइ सकेपछि एकाएक छाँगाबाट खसेजस्तो भइन्। 'नर्सिङ पढ्नु यही फिल्ड राम्रो छ' भन्ने सुझाव दिनेहरु सम्झिएर रिस नै उठ्यो उनलाई। तर, के गर्नु? यथार्थ थाहा पाउँदा ढिला भइसकेको थियो।

पढाइ सक्नासाथ सुमित्रा क्लिनिकदेखि अस्पताल जागिरकै लागि भौतारिइन्। अधिकांश ठाउँबाट जवाफ आउँथ्यो, 'सुरुमा इन्टर्नसीप गर्नुपर्छ। त्यसपछि मात्र जागिर।'

आठ दश लाख खर्च गरेर पढेकी थिइन्। समय पनि उस्तै दिएकी। जागिरको लागि भौतारिनु पर्दा डिप्रेसन नै भइसकेको थियो उनलाई। बल्लतल्ल वनस्थलीस्थित नेशनल किड्नी सेन्टरले बोलायो। सुरुवातको ६ महिना इन्टर्न गरिन्। 

त्यसपछि ५ हजार तलबमा काम गर्न राजी भइन्। नर्सको रुपमा कार्यरत भएको २ वर्ष भयो त्यहाँ। अहिलेसम्म १० हजार तलब नपुगेको बताउँछिन्। तै पनि उनी दैनिक आठ घण्टा भन्दा बढी ड्युटी गरिरहेकी छिन्।

भरोसा अस्पतालमा काम गर्ने सविना केसी हुन या भेनस अस्पतालमा काम गर्ने दिपिका श्रेष्ठ सबैको कथा सुमित्राको भन्दा फरक छैन। उनीहरु भन्छन्, 'ओभर टाइम गर्दा पनि महिनामा १० हजार पुग्दैन्। दिक्क लाग्यो अब विदेश जाने सोच बनाएको छौँ।'

कम तलब, बढ्दो बेरोजगार र दुर्व्यवहारका कारण उनीहरु निराश छन्। समस्या समाधानको लागि पटक पटक आन्दोलन समेत गरिरहेका छन्। तर, समस्या जस्ताको तस्तै छ।

फ्लासब्याक : २०७४ माघ ३
मुखमा कालो मास्क, पाखुरामा कालो पट्टी र हातमा पम्प्लेट बोकेर सेतो कोटधारी नर्सहरु सडकमा आन्दोलनमा उत्रिएका थिए। नारा लगाउँदै पम्प्लेट देखाउँदै उनीहरुको र्याली मण्डलाबाट बानेश्वर तर्फ अगाडि बढिरहेको थियो।

अकस्मात, सेता ड्रेसधारी नर्सहरुको बीचैमा एकजना अधवैशे महिला डाँको छाडेर रुन थालिन्। 

उनी हात जोड्दै रोइरहिन्। सँगै बसेका नर्सहरुले सम्झाए। पानी ल्याएर दिए। मुख धोइदिए। १० मिनेट रोएपछि बल्ल उनको आखाँबाट आँशु ओभाए। तर, उनले आफ्नो व्यथा पोख्न सकिनन्।

उनी  थिइन्, भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएकी नर्स त्रजिना जतिकी आमा। ७ महिनादेखि अस्पतालबाट बिना कारण निकालिएपछि आफू मर्कामा परेको भन्दै उनकी आमा मायादेवी नर्सहरुको आन्दोलन उपस्थित भएकी थिइन्। 

एक साता भन्दा बढी आन्दोलन लम्बिएपछि सरकारले नर्सहरुसँग माग पूरा गर्ने भन्दै सम्झौता गर्यो। तर, सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा समेत नर्सहरुको अवस्था पहिलेको भन्दा फरक छैन। त्यसैले उनीहरु निराश छन्।
***
कुन अस्पतालको नर्सलाई कति तलब ?

नर्सहरुको लागि सरकारले आकर्षक पारिश्रमिक तोकेको छ। 

वीर अस्पतालले अनमीलाई मासिक २२ हजार तोकेको छ भने पाँचौँ तहका नर्सलाई २३ हजार ५००। त्यस्तै छैटौँ तहका नर्सलाई ३०,५०० छ भने नर्सिङ अधिकृतलाई ४० हजार १५० तोकिएको छ। नवौँ तहमा कार्यरत नर्सको ४०,१५० छ भने नर्सिङ प्रमुखलाई ४२,८,८० तोकिएको छ।

पाटन विज्ञान प्रतिष्ठान पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पारिश्रमिक पनि वीर अस्पतालकै जस्तो छ। 

त्यस्तै काठमाडौं मेडिकल कलेज अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १३ हजार तोक्दा सातौँ तहलाई १७ हजार तोकेको छ। त्यस्तै नवौँ तहलाई २० हजार ५०० र नर्सिङ प्रमुखलाई ३० हजार रुपैयाँ तोकेको छ। 

बी एन्ड बी अस्पतालले नर्सिङ पाँचौँ तहलाई १३ हजार १ सय तोक्दा छैटौँ तहलाई १५ हजार ६ सय तोकेको छ।  त्यस्तै सातौँ तहलाई २३ हजार र नर्सिङ प्रशासनिक नवौँ तहलाई ३० हजार तोकेको छ। त्यहाँ नर्सिङ प्रमुखलाई भने  ५१ हजार तोकेको छ।

नर्भिक अस्पतालले नर्सिङ पाँचौँ तहलाई १० हजार ६ सय ५० तोकेको छ भने सातौँ तहको नर्सलाई २३ हजार तोकेको छ। नर्भिक अस्पतालको नर्सिङ प्रमुखलाई भने १ लाख रुपैयाँ तोकेको छ। 

त्यस्तै ग्रान्डी इन्टरनेसनल अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १६ हजार तोक्दा सातौँ तहलाई ४० हजार तोकेको छ। नर्सिङ प्रशासक नवौँ तहलाई ७५ हजार तोक्दा नर्सिङ प्रमुखलाई १ लाख ५१ हजार तोकेको छ।

यीभन्दा साना अस्पतालमा कार्यरत नर्सहरुको पारिश्रमिक अत्यन्तै न्यून छ। तोकिए अनुसार पारिश्रमिक नपाएको भन्दै नर्सहरुले पटक पटक आन्दोलन गरिरहेका छन्।

यी त भए पारिश्रमिकको समस्या। यो भन्दा अर्को ठूलो बेरोजगारी समस्या भोगिरहेका छन उनीहरु। बढ्दो बेरोजगारी दरले लाखौँ खर्च गरेर पढ्दा समेत काम पाएका छैनन्।

विश्व स्वास्थ्य संगठन भन्छ, ‘हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समेत गरेर २३ स्वास्थ्यकर्मी चाहिन्छ।’ स्वास्थ्य मन्त्रालयको तथ्यांक भन्छ, '१० हजार जनसंख्याका लागि १४ जना मात्रै स्वास्थ्यकर्मी रहेका छन्।'

जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने हुन्छ। सुत्केरी वार्डको एउटा बेडमा २ जना नर्स आवश्यक पर्छन्। आइसियू, सिसियूमा र पोस्ट अपरेटिभ वार्डमा १ बिरामी बराबर १ जना नर्स हुनुपर्ने मापदण्ड छ। त्यस्तै अपरेसन थिएटरमा १ टेबलमा ३ जना नर्स हुनुपर्ने मापदण्ड बनाएको छ। 

विश्व स्वास्थ्य संगठनले बनाएको यो मापदण्डमा नेपाल सरकारले पनि हस्ताक्षर गरेको छ। तर, मापदण्ड पालना गरेको देखिँदैन। अहिले सरकारी अस्पतालमा १ नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ। निजी अस्पतालको अवस्था पनि त्यो भन्दा फरक छैन।

तथ्यांक हेर्ने हो भने नेपालमा स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी छैनन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको छैन्। तर, जनशक्ति नै उत्पादन नभएर यो अवस्था आएको हैन। नेपालमा चाहिने भन्दा बढी स्वास्थ्यकर्मी उत्पादन छन् तर बेरोजगार।

नेपाल नर्सिङ काउन्सिलमा ८५ हजार आठ सय ६ नर्स दर्ता छन्। जसमध्ये २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलको तथ्यांक भन्छ, वर्षेनी सात हजार नर्स विदेशिन्छन्। दर्ता भएका ८५ हजारबाटै पाँच हजार नर्सको मृत्यु भइसकेको छ।

अर्थात, ४८ हजार आठ सय ६ जना रजिष्ट्रेड नर्स मात्रै  नेपालभित्रै बेरोजगार छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् । निजी स्वास्थ्य संस्थामा भने करिब १३ हजार कार्यरत छन्। मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ।

सन् २०११ को जनगणना अनुसार नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ। यही जनसङ्ख्यालाई आधार मान्दा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता देखिन्छ। यो तथ्यांकले स्पष्ट पार्छ, स्वास्थ्य संस्थाहरुले आवश्यक पर्नेजति नर्सिङ जनशक्ति राखेको देखिँदैन। देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति छैन।


***
अहिले १.३५ का दरले नेपालको जनसंख्या वृद्धिदर भइरहेको छ। यसैलाई आधार मान्ने हो भने सन् २०३० मा नेपालको जनसंख्या ३ करोड ५५ लाख पुग्नेछ। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने थप ७० हजार नर्सहरु आवश्यक पर्छन्। 

अहिलेको उत्पादनलाई आधार मान्ने हो भने सन् २०२३ मै नर्सिङ जनशक्ति ८२ हजार २ सय ७४ पुग्ने देखिन्छ। सन् २०२३ पछि नेपालमा नर्सहरु बेरोजगार नै हुन्छन्। यही अनुपातमा सन् २०३१ सम्ममा १ लाख ६७ हजार ७ सय नसर्हरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यही तथ्यांकले पनि भविष्यमा नर्सहरुको बेरोजगार दर भयानक रुपमा बढ्ने देखिएको छ।

तर, स्वास्थ्य संस्था र मापदण्ड अनुसार स्वास्थ्यकर्मी राख्ने पद्धती बस्यो भने यस्तो नहुन पनि सक्छ।
 
***
नर्सहरु आफै बताउने गर्छन्, पढाई सक्दा ५ लाख देखि १० लाखसम्म सकिन्छ। काम पाउन मुस्किल त छँदैछ सेवा सुविधा भन्न उस्तै लाजमर्दो। यही अनुपातमा नर्सहरु उत्पादन हुने तर खपत नहुने हो भने बेरोजगार नर्सहरुको सङ्ख्या झनै बढ्ने देखिन्छ। स्वास्थ्य संस्थाहरु निशुल्क काम लाउन उद्धत हुँदासम्म यो समस्या ज्यूकात्यू रहन्छ। नर्सहरु अहिलेको भन्दा बढी शोषित हुन्छन्। किनकि, बजारशास्त्रको सामान्य सिद्धान्त अनुसार पनि मागभन्दा र आपूर्ति बढी हुनासाथ नर्सहरुको भाउ घट्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell