काठमाडौँ : युवा खेलाडीहरु पवन सराफ, भिम शार्की र सन्दिप जोरा धनगढी प्रिमियर लिग (डीपीएल ३) को अक्सनमा हिट बनेका छन्। पवन र भिमलाई उच्चतम २ लाख ५० हजार सम्मको बोली लाग्दा सन्दिपलाई २ लाख ३० हजार सम्मको बोली लाग्यो।
१ लाख ५० हजार बेस प्राइज राखेका पवनलाई धनगढी स्टार्स र विराटनगर किंग्सले २ लाख ५० हजारको बोली लगाएको थियो। जसमा धनगढी स्टार्स भाग्यमानी बन्दै लक्की ड्र बाट पवनलाई पायो।
यस्तै भिम शार्कीलाई रुपन्देही च्यालेन्जर्सले २५ प्रतिशत परिवानासहित २ लाख ५० हजारमा अनुबन्ध गर्यो। अक्सनका लागि आवश्यक रकम कम भएपछि रुपन्देहीले जरिवाना तिर्नुपरेको हो। भिमले ६० हजार बेस प्राइज राखेका थिए।
यस्तै ७० हजार बेस प्राइज राखेका अर्का युवा खेलाडी सन्दिप जोरालाई सिवाइसी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको हो।
पवन र भिम बाहेक अक्सनमा अन्य चार खेलाडीलाई पनि उच्चतम बोली लागेको थियो। जसमध्ये विनोद भण्डारी र ललित भण्डारीलाई रुपन्देशी च्यालेन्जर्सले लक्की ड्र बाट लिन सफल भयो। यसैगरी आरिफलाई महेन्द्रनगरले लक्की ड्र बाट प्राप्त गर्दा काठमाडौँ गोल्डेन्सले ललित राजवंशीलाई २ लाख ५० हजारमा अनुबन्ध गर्यो। राजवंशीलाई काठमाडौँले मात्र उच्चतम बोली लगाएको थियो।