
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सुरु भएको अन्तिम चरणको पहिलो दिनको दुवै खेल बराबरीमा सकिएको छ।
हलचोकस्थित एपीएफको मैदानमा भएको नेपाल पुलिस र सरस्वती युथ क्लब तथा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल समान १-१ को बराबरीमा टुङ्गिएको हो।
बराबरीपछि चारवटै टोलीले एक-एक अंक जोडेर लिग सकाएका छन्।
आजको खेलपछि च्यासलले आठौँ, सरस्वतीले नवौँ र जावलाखेलले दशौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ।
उता बराबरीपछि पनि शीर्ष ६ मै रहेको पुलिस १९ अंकसहित छैटौँ स्थानमा छ। तर पुलिसको अन्तिम स्थान भने हिमालयन शेर्पाको खेलपछि टुङ्गो लाग्नेछ। यदी पुलिसले सरस्वतीलाई हराएको भए शीर्ष छ मा पर्ने पक्का थिए।
हिमालयन शेर्पा १७ अंकसहित सातौँ स्थानमा छ र उसले अन्तिम खेलमा थ्री स्टारसँग बराबरी खेले वा हार बेहोरेमा पुलिस छैटौँ नै हुनेछ। यदी शेर्पा विजयी भए शेर्पाले पुलिसलाई पछि पार्नेछ।
हलचोकस्थित एपीएप मैदान बिहान ११ बजे भएको पहिलो खेलमा जावलाखेलले सुरुमै अग्रता लिएपनि जोगाउन सकेन। खेलको १०औँ मिनेटमै अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। तर ३०औँ मिनेटमा पेनाल्टी पाएपछि छिरिङ गुरुङले गोल गर्दै च्यासललाई खेलमा फर्काए। त्यसपछि दोस्रो हाफमा गोल नहुँदा खेल बराबरीमा सकियो।
यस्तै एपीएफकै मैदानमा साढे २ बजे भएको पुलिस र सरस्वतीबीचको खेलमा दुवै गोल दोस्रो हाफको सुरुको १औ० मिनेटभित्र भएको थियो। ५०औँ मिनेटमा पेनाल्टी पाएपछि भिक्टोर अमोबीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए। तर त्यो अग्रता लामो समय टिकेन। त्यसको तीन मिनेटपछि नै पुलिसका रवी पासवानले बराबरी गोल फर्काएका थिए।
लिगअन्तर्गत आइतवार एन्फा कम्प्लेक्स मैदानमा थ्री स्टार र हिमालयन शेर्पा तथा एपीएफ मैदानमा त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच खेल हुनेछ। दुवै खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।