पाँचथर : पाँचथरको फिदिममा शनिबारबाट शुरु भएको १०औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा विजयी भएको छ।
कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा प्रवेश गरेको हो। झापालाई जिताउन खेलको २६औँ मिनेटमा देवेन्द्र तामाङले, ४९औँ मिनेटमा राजकुमार कन्दङवा र ५७औ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए। ताप्लेजुङका लागि खेलको छैटौँ मनेटमै अनुप सेन्दाङले गोल गरेपनि अग्रता कायम राख्न सकेन।
पुस ३० गतेसम्म हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोटिङ क्लबले जनाएको छ।
झापा ११, ताप्लेजुङ, आयोजक फिदिम स्पोटिङ क्लब, मोरङ ११, त्रिभुवन आर्मी क्लब काठमाडौँ, एपिएफ क्लब काठमाडौँ, बिग्रेड ब्वाइज काठमाडौँ, सरस्वती क्लब काठमाडौँ, सुनसरी ११ र रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख हात पार्ने उनले बताए।