काठमाडौँः प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा छलफल सुरु भएको छ।
गण्डकी प्रेदशका सभामुख नेत्रनाथ अधिकारीले शपथबारे परामर्शका लागि बैठक बोलाएका छन्। सबै दलहरु सम्मिलित हुने कार्यव्यवस्था परामर्श समिति बैठक सभामुखले बोलाएका हुन्।
सर्वोच्च अदालतको आदेश अनुसार मनाङ्गे केही दिनअघि रिहा भएका हुन्। रिहा भएलगतै मनाङ्गेले विशेष कारणले शपथ ग्रहण लिन नपाएको भन्दै शपथका लागि प्रदेशसभामा निवेदन दिएका थिए।
सभामुखको परामर्शपछि मात्र शपथ गराउने कि नगराउने भन्ने बिषयमा थाहा हुने गण्डकी प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए।
पहिलोपोस्टसँग सचिव खड्काले भने, 'बैठकले के निर्णय गर्छ त्यसपछि थाहा हुन्छ। अहिलेसम्म कुनै जानकारी आएको छैन।'
२७ हजार रुपैयाँ धरौटी बुझाएर जेलमुक्त भए पनि उनको मुद्दा अझै टुङ्गिएको छैन। उनलाई अदालतले तारेखमा छाडेको हो। सर्वोच्चले उनलाई थुनामा नबसी मुद्दा लड्न पाउने सुविधा दिएको छ।
२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङ्गेसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। बागबजारको उक्त घटनामा सम्मिलित अन्य गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवार थिए। गणेश लामा हाल कांग्रेसमा आवद्ध छन्।
काठमाडौँ जिल्ला अदालतले २०६१ सालमा मनाङ्गेलाई २ वर्ष जेल सजायको आदेश गरेको थियो। अन्य चार प्रतिवादीले जिल्ला अदालतबाट सफाइ पाएका थिए।
जिल्लाको फैसलामा चित्त नबुझाउँदै सरकारी वकिलको कार्यालयले तत्कालीन पुनरावेदन अदालत पाटनमा सरकारका तर्फबाट पुनरावेदन गरेको थियो। पुनरावेदन अदालत पाटनबाट एकराज आचार्यसहितको इजलासले २०६९ सालमा जिल्ला अदालतको फैसला केही उल्टी गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने आदेश गरेको थियो।
अन्य चार प्रतिवादीका हकमा जिल्ला अदालतको आदेश नै सदर गरेको थियो। अर्थात् अन्य चार जनाले सफाइ पाएका थिए।
सरकारले पुनरावेदनको फैसलामा पुनः चित्त नबुझाउँदै चार प्रतिवादीविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही मुद्दामा सर्वोच्चले पोहोर (२०७४ माघ २ गते) फैसला गर्यो। यो फैसलापछि मात्रै मनाङ्गेको कैद बाँकी रहेको खुलेको थियो।