
काठमाडौँ : प्रेम तामाङले शानदार शतक अनी बलरहरुको धारिलो बलिङपछि नेपाल पुलिस क्लबले मनमोहन स्मृति कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शान्तिदिपलाई २७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
उद्घाटन खेलमा प्रदेश नम्वर २ लाई ११२ रनले पराजित गरेको पुलिस लगातार दोस्रो जितपछि सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ।
पुलिसको शानदार जितमा प्रेमले शतक प्रहार गर्दा कुशल भुर्तेलले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे। यस्तै अमित श्रेष्ठले पनि अर्धशतक बनाए।
यस्तै बलिङमा स्पिनरद्वय सागर ढकाल र ललित नारायण राजवंशी तथा फास्ट बलर दिपेश श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे।
पसुनसरीको इनरुवा मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले प्रेमको शतक मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर ३७३ रन बनाएको थियो। प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा प्रेम तामाङले १२१ बल खेल्दै १६ चौका र ४ छक्काको मद्दतमा १३८ रन बनाए।
यस्तै कुशल भुर्तेल र कुशल भुर्तेलले ५१ बल खेल्दै ९ चौका र ३ छक्काको मद्दतमा ७६ रन बनाए। ओपनर अमित श्रेष्ठले ५३ बलमा १ छक्का र १२ चौकाको मद्दतमा ६९ रन बनाए। दिपेश श्रेष्ठले आक्रमक ब्याटिङ गर्दै ५ बलमा नटआउट २४ रन बनाए। सबै बल बाउन्ड्री प्रहार गरेका दिपेशले ३ चौका र ४ छक्का प्रहार गरे।
शान्ति दिपका सोनु मण्डलले सर्वाधिक ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दा ८० रन खर्चे।
ठूलो लक्ष्य पछ्याएको शान्तिदिपले पुलिसको धातक बलिङसामु धेरै टिक्न सकेन र ३२.३ ओभरमा ९६ अलआउट भयो। शान्तिदिपका लागि सोनु मण्डलले सर्वाधिक २४ रन बनाउँदा सोनु अन्सारीले १७ तथा अमिर अख्तरले १५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
शान्तिदिपलाई अलआउट गर्न पुलिसका लागि यू-१९ राष्ट्रिय टिमका स्पिनर सागर ढकालले ३, ललित राजवंशीले २ तथा दिपेश श्रेष्ठ, रामनरेश गिरि र योगेन्द्र कार्कीले १/१ विकेट लिए।
सागरले ९ ओभरमा २ मेडन राख्दै ११ रन मात्र खर्चे। ललित राजवंशीले ४.२ ओभरमा १ मेडन राख्दै ५ रन खर्चे। फास्ट बलर दिपेशले ६ ओभर बलिङ गर्दा लगातार ५ ओभर मेडन फाले। उनले अर्को एक ओभरमा भने ४ रन खर्चे।