काठमाडौँः सोमबार बिहानबाट उपत्यकाको मौसम बदली भएको छ। चिसो ह्वात्तै बढेको छ। काठमाडौँमा बिहानबाट हल्का वर्षा समेत सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा आज हल्का वर्षा हुने समेत जनाएको छ। हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदलिरहने जनाएको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाको अनुमान छ।
महाशाखाले सोमबार राति पनि मध्य र पूर्वी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा सामान्य हिमपात हुने महाशाखाको भनाई छ।
महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौँको न्युनतम तापक्रम एक दशमलव ८ डिग्री सेल्सियस रहेको छ।
जोमसोम, जिरी र जुम्लाको तापक्रम माइनसमा झरेको छ। जिरीमा माइनस दुई दशमलव ५ पुगेको छ।