
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको शहिद स्मारक ए डिभिजन लिग २०७५ मा अब दुई खेल बाँकी छ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा ९१ मध्ये ८९ खेल सकिएका छन्। लिग विजेता देखि शीर्ष ६ मा पर्ने टोलीको टुङ्गो लागिसकेको छ।
अब प्रतिक्षाको रुपमा रहेको छ अन्तिम दुई खेलको नतिजा के हुनेछ भन्ने अनी पूछारको दुई स्थानमा को पर्छन्। यस बाहेक लिगमा कसले राम्रो प्रदर्शन गर्यो, को व्यक्तिगत रुपमा उत्कृष्ट रह्यो भन्ने विषयमा पनि सबैको चासो रहेको छ। जसको छिनोफानो लिग सकिएपछि हुनेछ।
एन्फाले लिग विजेता र उपविजेता बाहेक विभिन्न पोसिजनबाट खेल्ने चार विधागत उत्कृष्टसहित उत्कृष्ट प्रशिक्षकलाई एक-एक थान मोटरसाइकल प्रदान गर्ने घोषणा लिगअघि नै गरिसकेको छ।
यस्तै अनुशासित भइ खेल्ने एक टिमले 'फेयर प्ले' अवार्डसहित नगद १ लाख पाउनेछन्। यस बाहेक एन्फाले केही दिनअघि नेपाली म्याराडोना भनेर चिनिने स्व. मणि विक्रम शाहको नामबाट लिगको उत्कृष्ट युवा खेलाडीलाई पनि पुरस्कृत गर्ने घोषणा गरेको छ। उत्कृष्ट हुने युवा खेलाडीले 'मणि विक्रम शाह योङ प्लेअर अवार्ड' सहित नगद १ लाख हात पार्नेछन्।
लिगमा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको लागि पुरस्कार नभएकाले पनि विधागत उत्कृष्ट को हुनेछ भन्ने विषयमा बढी चासो रहेको छ र त्यसमा विजेता हुने खेलाडीहरु नै चर्तित हुनेछन्।
यस सिजन मनाङले लगातार १२ खेल जित्दै २ खेल अगावै लिगको उपाधि पक्का गरिसकेको थियो। यस्तै संकटा क्लबले एक खेल अगावै दोस्रो स्थान पक्का गर्यो। उपाधिको दाबेदार मानिएको थ्री स्टार तेस्रो र त्रिभुवन आर्मी चौथो भयो। कुनै समय लिगमा एकछत्र राज गरेको पुलिसले आफूलाई दाबेदार भनेपनि छैटौँ स्थानमा रह्यो।
यही क्लबहरु मध्येबाट विधागत उत्कृष्ट छानिनेछन्। मनाङले १२औँ चरणसम्म लगातार खेल जित्दै शतप्रतिशत नतिजा काम राखेको कारण उक्त क्लबको खेलाडीहरु विधागत उत्कृष्ट दाबेदारमा स्वभाविक रुपमा अगाडी नै छन्। यस्तै संकटालाई अप्रत्यासित रुपमा दोस्रो बनाएका खेलाडीहरु पनि उत्कृष्टको होडमा छन्।
को- को छन् त उत्कृष्टको होडमा?
गोलकिपर
च्याम्पियन बनिसकेको मनाङका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपरको होडमा सबैभन्दा अगाडी छन्। उनले १२ खेल खेल्दा ६ खेलमा क्लिनसिट राखेका छन् भने अहिलेसम्म ६ गोल मात्र खाएका छन्। मनाङलाई हार बाट टार्नका लागि धेरै खेलमा विशालले महत्वपूर्ण र निर्णायक भूमिका समेत निर्वाह गरिसकेका छन्। थोरै गोल खाएको र टिमलाई उपाधि दिलाउन सहयोग गरेकाले विशाल यो अवार्डको होडमा अगाडी छन्।
यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आर्मीका विकेश कुथुलाई सुरुमा पनि यस अवार्डको दाबेदारको रुपमा हेरिएको थियो। पछि आर्मीले खेलहरु हार्नु र विकेशले पनि गोल धेरै छाड्नुले उनको सम्भावना अली कम बनेको हो।
डिफेण्डर
गोलकिपर भन्दा अगाडी रहेर विपक्षीलाई गोल गर्नबाट रोक्नु र अगाडी मिडफिल्डलाई धेरै बल उपलब्ध गराउनु डिफेण्डरको मुख्य काम हो। यसमा अरु भन्दा अगाडी आउने नाम हो थ्री स्टारका रन्जित धिमाल। लिगमा मनाङका अफिज ओलावाले र आर्मीका कप्तान भरत खवाससँगै धिमालले पनि सर्वाधिक ७ गोल गरिसकेका छन्। उनले ५ गोल पेनाल्टीमा गरेका थिए। थ्री स्टारको पहिलो रोजाईँमा पेनाल्टी टेकरको रुपमा रहेकाले उनले गोलसंख्या बढाउने अवसर पाएका हुन्। सर्वाधिक गोलकर्तामा अगाढी रहेकाले पनि उनी उत्कृष्ट डिफेण्डरको होडमा छन्। उनलाई पछ्याउनेमा च्याम्पियन मनाङका कमल श्रेष्ठ र संकटाका अमित तामाङ पनि छन्। कमल मनाङको लागि डिफेन्समा उत्कृष्ट प्रदर्शन गर्नुका साथै विंगरका रुपमा अगाडी बढेर समेत खेलेका छन्।
मिडफिल्डर
सबैभन्दा धेरै बल खेलिने, बल होल्ड हुने ठाउँ मिडफिल्ड हो। यस पोजिसनमा खेल्ने खेलाडीले कलात्मक फुटबलका कारण आफूलाई चर्चित बनाउन सक्छन्। डिफेन्सबाट बल पास लिने, फरवार्डलाई गोल गर्न बल दिने र मौका पाउँदा आफैँ गोल समेत गर्ने काम मिडफिल्डरको हो। यस सिजन लिगमा वाउ.. गर्न लायक रुपमा कुनै पनि मिडफिल्डरले राम्रो खेल देखाउन सकेका छैनन्। राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुले समेत आफ्नो प्रदर्शनलाई सुधारेको देखिएन। तर च्याम्पियन भएकै नाताले पनि यस पोजिसनमा मनाङका खेलाडीको नाम अगाडी आउँछ। राष्ट्रिय टिमका खेलाडीद्वय हेमन गुरुङ र विशाल राई उत्कृष्ट मिडफिल्डरको होडमा अगाडी छन्।
बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका सुनिल बलले यस लिगमा खासै राम्रो प्रदर्शन गर्न सकेनन्। यस्तै उपाधि दाबेदार मानिएको आर्मीले पनि पछिल्लो खेलहरुमा राम्रो गर्न नसक्दा मिडफिल्डकै कमजोरी देखियो।
मनाङलाई प्रकाश बुढाथोकी र सुजल श्रेष्ठको चोटले सताएपनि मिडफिल्डलाई धान्ने काम धेरै हदसम्म हेमन र विशालकै काँधमा थियो। हेमनल केही खेलहरुमा उत्कृष्ट प्रदर्शन गरे। विशेष गरी लामो सट हान्न, स्ट्राइकरलाई बल उपलब्ध गराउने र फ्रिकिक पनि हान्न माहिर रहेका हेमन गोल पनि गर्न सक्षम छन्। मनाङको केही जितमा हेमनको निर्णायक भूमिका रहेको थियो। यस्तै विशालले मनाङको केही जितमा निर्णायक गोल नै गरेका थिए। स्ट्राइकरलाई बल उपलब्ध गराउने र अवसर पाएको खण्डमा आफै गोल गर्न विशाल चुक्दैनन्।
स्ट्राइकर
राष्ट्रिय टिमका चर्चित स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ र विमल घर्ती मगरको लागि यस सिजनको लिग अपेक्षाकृत हुन सकेन। आर्मीका कप्तान समेत भरत खवास डबल येल्लो कार्डका कारण केही खेल खेल्नबाट बन्चित भए। यस्तै चोटका कारण आर्मीकै नवयुगले पनि केही खेल गुमाए। लिगअघि थ्री स्टारबाट खेलेका विमललाई लिगमा सुरुहुनुअघि च्यासलले अनुबन्ध गरेको थियो। तर विमलले राम्रो प्रदर्शन गर्न सकेनन्। उनी लिगको बिचमै च्यासलसँग सम्झौता रद्द गरेर बेल्जियम लागे।
यस बाहेक राष्ट्रिय टिमका खेलाडी अन्जन विष्टले रलिगमा राम्रो प्रदर्शन गरे। यसअघि एपीएफबाट क्लब फुटबल खेल्ने गरेका अन्जनले लिगको डेब्यु सिजनमै मनाङबाट खेल्दै च्याम्पियन बन्ने मौका पाए। उनले मनाङका लागि ५ गोल समेत गरे। पाएको मौकामा उनी चुकेनन्। छिटो खेल्ने उनको शैली हो। नाम चलेका स्ट्राइकरले राम्रो खेल्न नसक्दा यी युवा खेलाडी उत्कृष्ट स्ट्राइकरको होडमा स्वभाविक रुपमा अगाडी छन्। उनले केही खेलमा निर्णायक गोल समेत गरेका थिए। अन्जनलाई पछ्याउने मनाङकै विदेशी खेलाडी आफिज ओलावाले रहेका छन्। पाएको अवसरलाई नछाड्ने ओलावाले गोल र्न माहिर छन्। पाँच वर्षअघि भएको लिगमा समेत खेलिसकेका ओलावाले यसअघि पनि मनाङका लागि नकआउट टुर्नामेन्टहरु खेलिसकेका छन्। डबल येल्लोका कारण केही खेल गुमाएपनि मनाङको च्याम्पियन यात्रामा यी खेलाडीले महत्वपूर्ण योगदान दिएका छन्। यस्तै मनाङले गरेको २४ मध्ये ७ गोल पनि ओलावालकै नाममा छ। उनी सर्वाधिक गोल गर्नेमा थ्री स्टारका रन्जित र आर्मीका भरत खवाससँगै अगाडी छन्। रन्जित र भरतको खेल सकिसकेकाले ओलावालेलाई अन्तिम खेलमा फ्रेण्ड्सविरुद्ध गोल गर्दै सर्वाधिक गोलकर्ता बन्ने मौका समेत छ।
यसबाहेक एपीएफलाई पाँचौ स्थानमा दिलाउन फरवार्ड युवराज खड्काले उत्कृष्ट प्रदर्शन गरे। एपीएफलाई जिताउन गोल गर्ने खेलाडीको रुपमा रहेका यी खेलाडीले अन्जन विष्ट समान ५ गोल गरेका छन्।
प्रशिक्षक
च्याम्पियन बन्ने टिमको प्रशिक्षक स्वभाविक रुपमा उत्कृष्ट प्रशिक्षकको सबैभन्दा ठुलो दाबेदार हुन्छ। यस मानेमा पनि मनाङका प्रशिक्षक सुमन श्रेष्ठ यस विधाको उत्कृष्ट होडमा अगाडी छन्। मनाङले लगातार ११ खेल जितेर लिग जित्दाका प्रशिक्षक हुन् उनी। अहिले मनाङले लगातार १२ खेल जितिसकेको छ र अब बाँकी एक खेल पनि जितेर सबै खेल जित्दै लिग च्याम्पियन हुने रेकर्ड बनाउने अभियानमा छन् मनाङ, प्रशिक्षक सुमन श्रेष्ठ र सबै खेलाडीहरु। सुरुमा मनाङले नाइजेरियाली प्रशिक्षक फुजा तोपेलाई मुख्य प्रशिक्षक नियुहक्त गरेपनि कागजी प्रकिया नमिल्दा मनाङको टचलाइन सम्हाल्ने अवसर सुमनले पाए। उनले पनि आफूले पाएको जिम्मेवारीलाई प्रमाणित गरे। डेब्यु सिजनमै लिगको उपाधि जितेका सुमनलाई मैदानबाहिर र ट्रेनिङमा भने फुजाले सहयोग गरे। सुरुमा फुजाको सहयोगीको रुपमा रहेका सुमन अन्त्यमा भने आफै अगाडी देखिए। मनाङले उपाधि जित्नुमा फुजा र आफ्नो ५०-५० प्रतिशत योगदान रहेको उनले बताएका थिए। लिगअघि सिक्किममा भएको गभर्नर्स गोल्डकपकमा पनि मनाङ च्याम्पियन बन्दाका प्रशिक्षक रहेका सुमनल त्यसयता अपराजित छन्। उनी मनाङले लगातार १२ खेल जित्दाका प्रशिक्षक हुन्र अब अन्तिम खेल जितेर नयाँ रेकर्ड समेत बनाउन चाहन्छन्। यो सबै तथ्याङ्क हेर्दा सुमन मोटरबाइकको हकदारको रुपमा अगाडी छन्। डेढ दशकदखि प्रशिक्षण करियर सुरु गरेका सुमन एएफसी ए लाइसेन्स होल्डर हुन्।
यस सिजन लिगमा राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा रहिसकेका राजु काजी शाक्य, मेघराज केसी अनी गत सिजन मोफसलमा आर्मीलाई धेरै उपाधि जिताएका नवीन न्यौपाने जस्ता राम्रो प्रशिक्षकहरु थिए। तर यी प्रशिक्षकका टिमले राम्रो गर्न नसकेपछि उत्कृष्ट होडमा पनि पछाडी परे। यस्तै मोफसलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका प्रशिक्षक सल्यान खड्गी पनि उत्कृष्टको दाबेदारीमा अगाडी छन्। यस सिजन उनको प्रशिक्षणले संकटाले अप्रत्याससित रुपमा दोस्रो स्थान हासिल गरेको छ। यसक्रममा संकटाले थ्री स्टार, पुलिस जस्ता क्लबलाई हरायो। यसअघि आर्मी र मनाङसँग पराजित संकटा अन्तिम खेलमा भने एपीएफसँग पराजित भयो।
अन्य क्लबहरु पराजित भइरहँदा मनाङ भने अपराजित यात्रा कायम राख्दै अगाढी बढ्यो। यसले पनि सुमनको प्रशिक्षण यात्रालाई सफलतातिर डोहोर्याएको छ।
उत्कृष्ट युवा खेलाडी
राष्ट्रिय टिममा पर्नको लागि लिगलाई मुख्य ढोकाको रुपमा हेरिन्छ। उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका अनी मोफसलका प्रतियोगिताहरुमा पनि र खेलेका केही युवा खेलाडीले लिगमा आफूलाई प्रमाणित गर्ने अवसर पाए। आर्मीका मिडफिल्डर दिनेश हेन्जन, डिफेण्डर विकास खवास, पुलिसका अभिषेक रिजाल यो अवार्डको होडमा अगाडी छन्।