PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चार चिनियाँ जहाज: उडाउन थालेको केही महिनामै खराबी, पार्टपूर्जा नै नपाएको भन्दै बिक्रीको तयारीमा निगम



वसन्तराज उप्रेती

चार चिनियाँ जहाज: उडाउन थालेको केही महिनामै खराबी, पार्टपूर्जा नै नपाएको भन्दै बिक्रीको तयारीमा निगम

काठमाडौं: पाँच वर्षअघि साढे तीन अर्ब रुपैयाँमा भित्रिएको चिनियाँ जहाज नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ।

चीन सरकारले दुईवटा अनुदानमा दिएर चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा नेपाललाई बिक्री गरेको थियो। यो जहाज नेपाल ल्याउनेवित्तिकै एकपछि अर्को समस्या झेल्दै आएको छ। जहाज बिग्रिएमा पाटपूर्जासमेत पाउन कठिनाई भएपछि बिक्री गर्ने टुंगोमा निगम पुगेको हो। ‘चिनियाँ जहाज हामीले चलाउन सक्ने अवस्था रहेन। हामीले अधिकतम प्रयास गरेर जहाज चलाउने प्रयास गरेका हौं। तर सामान्य खराबीमा समेत जहाजको पाटपूर्जा नपाएर लामो समय ग्राउण्डेड गर्नुपर्ने अवस्था आयो,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलले  भने,’अब यो जहाज बिक्री गर्ने वा लिजमा दिने भन्ने टुंगोमा पुग्नेछौं।’

उनका अनुसार पाटपूर्जा पाउनै मुस्किल हुने गरेको छ। ‘केही दिन अघिमात्रै एमए ६० ग्राउण्डेड भयो। यो स्वभाविक हो। तर चाहिएको बेलामा पाटपूर्जा नपाएर महिनौं थन्क्याउँदा निगमले धान्नै सक्दैन,’ उनले भने,’पाटपूर्जा पनि अत्यन्तै महँगो छ। हामीले संचालन खर्च नै धान्न नसक्ने अवस्था आएपछि जहाज हटाउन लागेका हौं।’

चीनबाट १८ सीट क्षमताको वाई–१२ ई जहाज चार वटा र एमए -६० दुइवटँ जहाज ल्याइएको थियो। झण्डै चार वर्ष त्रिभुवन विमानस्थलको चौंरमा थन्किएको जहाज निगमको कार्यकारी अध्यक्षको रुपमा खरेल आएपछि उडाउन थालिएको थियो। खरेल महाप्रबन्धक हुँदा चीनले केही जहाज हस्तान्तरण गरेको थियो। प्राधिकरणले लुक्ला, सिमीकोट, जुफाल, मुगुको ताल्चामा उडानमा चमत्कारिक आम्दानी गरेको थियो। तर यो धेरै समय टिकेन। जहाजमा खराबी आउन थाल्यो र समयमा पाटपूर्जा आउनै नसकेपछि निगमले बिक्रीको विकल्प अगाडि सारेको हो।

चिनियाँ जहाजले निगमको आम्दानी मात्रै होइन साख पनि गुमायो। निगमका एक कर्मचारीका अनुसार चिनियाँ जहाजले निगमलाई पारेको आर्थिक क्षतिको विवरण तयार भइरहेको छ।‘सुरुवातमै चिनियाँ जहाज ल्याउने बारेमा ठूलो वहस भएको थियो। तर त्यो वहसलाई लत्याएर जहाज ल्याउने काम भयो’ ती कर्मचारीले भने,’चिनियाँ जहाज ल्याउने बेलामै मेड इन चाइना आज छ भोलि छैन भन्दै आलोचना हुँदा पनि अर्बौ रुपैयाँ खर्चिएर ल्याएर निगमलाई भिडाउने काम भयो।’

अब नयाँ जहाज

निगमले चिनियाँ जहाज हटाएर ट्विनअटर भित्र्याउने भएको छ। अध्यक्ष खरेलले भाइकिङ कम्पनीका ट्विनअटर जहाज ल्याउने बताए।‘सजिलैसँग पाटपूर्जा पाउने जहाज किन्नेछौं’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell