PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

ए डिभिजन लिग : उत्कृष्टहरुमा मनाङको वर्चस्व, कसकसले पाए मोटरबाइक?

ए डिभिजन लिग : उत्कृष्टहरुमा मनाङको वर्चस्व, कसकसले पाए मोटरबाइक?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग २०७५ को विधागत उत्कृष्टमा च्याम्पियन टिम मनाङको वर्चस्व रह्यो।

पाँच भिन्न विधामध्ये मनाङ खेलाडी र प्रशिक्षकले गरी तीन विधामा उत्कृष्टको अवार्ड पाए। यस्तै तेस्रो भएको थ्री स्टार चौथो भएको त्रिभुवन आर्मीका एक-एक खेलाडी विधागत उत्कृष्ट भए।

लगातार १२ खेल जितेर लिग उपाधि पक्का गरिसकेको मनाङ अन्तिम खेलमा फ्रेण्ड्ससँग १-० ले पराजित भएको। उक्त हारपछि मनाङको अपराजित लिग जित्ने अभियान र सबै खेल जितेर कीर्तिमान बनाउने लक्ष्य पुरा हुन सकेन।

तर व्यक्तिगत अवार्डमा भने मनाङ हावी रह्यो। मनाङलाई च्याम्पियन बनाउन टच लाइनबाट निर्देशन दिने सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै लिगमा सबैभन्दा कम गोल खाने मनाङका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए भने मनाङकै हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए।

लिग अवधिभर सर्वाधिक गोल गर्ने तीन खेलाडी थिए। मनाङका आफिज ओलावालेसँगै थ्री स्टारका डिफेण्डर रन्जित धिमाल र आर्मीका कप्तान भरत खवास।

सर्वाधिक ७ गोल गरेका थी तीन मध्ये रन्जितले उत्कृष्ट डिफेण्डरको अवार्ड पाउदा आर्मीका भरत उत्कृष्ट फरवार्ड घोषित भए।

यी पाँचै जना उत्कृष्टले एक-एक थान पल्सर मोटरबाइक प्राप्त गरे। यस्तै सबैले नगद ५० हजार पनि हात पारे।

यस बाहेक स्व. मणि विक्रम शाह उत्कृष्ट युवा खेलाडीको अवार्ड आर्मीका विकास खवासले पाए। उनले नगद १ लाख हात पारे।

फेयर प्लेको अवार्ड ब्रिगेड ब्वाइज क्लबले जित्यो। ब्रिगेडले नगद १ लाख पायो।

उत्कृष्ट गोलकिपर : विशाल श्रेष्ठ
उत्कृष्ट डिफेण्डर : रन्जित धिमाल
उत्कृष्ट मिडफिल्डर : हेमन गुरुङ
उत्कृष्ट फरवार्ड : भरत खवास
उत्कृष्ट प्रशिक्षक : सुमन श्रेष्ठ
मणि विक्रम शाह उत्कृष्ट युवा खेलाडी : विकास खवास


ट्रेन्डिङ पोस्ट

Ncell