PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्मार्ट बन्दै ललितपुर महानगर: धमाधम पिच हुँदै सडक, राखिँदै स्मार्ट लाइट



दिनेश खड्का

स्मार्ट बन्दै ललितपुर महानगर: धमाधम पिच हुँदै सडक, राखिँदै स्मार्ट लाइट

ललितपुर: ललितपुर महानरगपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने सडकको कालोपत्रे १.५ इन्चको हुनुपर्ने नीति बनाएको छ।

महानरगपालिकाले कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको भन्दै गुणस्तरीयता कायम गर्नका लागि कालोपत्रे (पिच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय गरेको हो। अहिले ललितपुर महानगरका विभिन्न सडकहरुसमेत धमाधम पिच हुन थालेको छ। भित्री सडकदेखि मुख्य सडकहरु पिच गर्ने क्रम चलिरहेको महानगरले जनायो।

महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा निर्माण हुने सडकमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौतामै मापदण्ड अनिवार्य गरिने बताए। उनले सडक निर्माण वा कालोपत्रे गर्दा त्यो गुणस्तरीय छ वा छैन भनी ल्याब टेष्टको रिपोर्ट समेत निर्माण कम्पनीले अनिवार्य रुपमा दिनुपर्ने बताए।

त्यसैगरी एक बर्षभित्र गरिएका कालोपत्रे उप्किए वा भत्किए के कारणले समस्या आएको हो त्यसको अध्ययन गरेर त्यही निर्माण कम्पनीबाट काम गराइने छ। यदि उसले नमाने बैंक ग्यारेण्टी जफत गरेर काम गरिने जानकारी दिए।

ठेक्का नीतिमै डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी) १ बर्ष हुने भएकाले यसलाई प्रभावकारी रुपमा लागु गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन लागिएको महानगरपालिकाले जनाएको छ।

अहिले नेपालमा एक लेयरमा २० एमएमदेखि ६० एमएमसम्मका सडक बनेका छन्। त्यसमा डिजाईन अनुसार दुई तीन लेयर पनि बनाउन सकिन्छ। १.५ इन्च भनेको करिव ४० एमएम हुन्छ। अब ललितपुरका भित्री सडकहरु पनि हालको भन्दा दोब्बर बाक्लो ( ४० एमएम) हुनेछ। जसको उदेश्य गुणस्तरीय सडक निर्माण गर्नु हो।

 

रात परेपछि आँफै बल्ने घाम लागेपछि निभ्ने सडक बत्ती जोड्दै

 

ललितपुर महानगरको मुख्य सडकमा स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) राखिने भएको छ। महानगर क्षेत्र भित्रको मुख्य सडकमा १ हजार स्मार्ट लाईट राख्न लागेको महानगरका मेयर महर्जनले जानकारी दिए।

उनले स्मार्ट लाईटका लागि ग्लोवल टेण्डर निकाल्ने तयारी भइरहेको बताए। महर्जनका अनुसार, नेपालमै पहिलो पटक ललितपुर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती राख्न लागेको हो।


स्मार्ट सडक बत्ती कसैले बाल्नु पर्दैन, अटोमेटिक बल्छ अनि निभ्छ पनि। दिउँसो निभ्छ, रात परेपछि बल्छ।

स्मार्ट बत्ती मानिसहरुको गतिविधि बढ्यो भने सबै बत्तीहरु बल्छ भने कम भयो भने बत्तीहरुको पावर घट्छ थाल्छ। यदि मनिसहरुको गतिविधि भएन र सडक चकमन्न भयो भने पाँच वटामध्ये एउटा मात्रै वैकल्पिक बत्ती बल्छ। लाइटमा सिसिटीभी क्यामेरा पनिसँगै जडान गरिएको हुन्छ। सिसिटिभी क्यामेराले सवारीसाधनको इम्वोस्ड नम्बर रिड गरेर सम्वन्धित ठाउँमा पठाउँछ।

सडक बत्ती राख्नका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेर उनकै सल्लाह अनुसार स्मार्ट लाइट राख्न लागिएको महर्जनले बताए।

प्राधिकरणले ललितपुरका मुख्य सडकमा स्मार्ट लाईट राख्नका लागि डिजाइनसमेत दिईसकेको छ। ललितपुर महानगरपालिकामा अहिले इलेक्ट्रिकल इन्जिनियर नभएकाले विद्युत प्राधिकरणको सहयोगमा डिजाइन तयार पारिएको हो। इलेक्ट्रिकल इन्जिनियर राख्नका लागि प्रक्रिया सुरु गरेको महर्जनले बताए।

स्मार्ट सडक बत्ती राख्नका लागि अन्तराष्ट्रिय रुपमा नाम कमाएमा कम्पनीहरु आओस भन्ने चाहेको महर्जनले जानकारी दिए। यसका लागि केहि नाम कमाएका कम्पनीहरुसँग छलफल समेत भइरहेको ललितपुर महानगरपालिकाले जनाएको छ। बत्ती जडानको जिम्मा पाउने कम्पनीले इन्स्टल गरेको दुई वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी लिनुपर्नेछ। डिफेक्ट लायविलिटी पिरियड दुई बर्षको राखिएको छ।

ललितपुर महानगरपालिकाले सडकमा सोलार बत्ती जडान नगर्ने भएको छ। 'सोलार लाईट फेलियर प्रोजेक्ट हो, जुनकिरी बलेजस्तो पनि सडक बत्ती हुन्छ र?' उनले भने। नयाँ जोडिने स्मार्ट सडक बत्ती बालेबापत उठ्ने बिल नेपाल विद्युत प्राधिकरणलाई ललितपुर महानगरपालिकाले तिर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell