PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णाली प्रदेशका मन्त्री भन्छन्, 'कर्मचारी अभावमा काम गर्न असहज’, कर्मचारी भने घाम तापेर कटाउँछन् दिन



पी बी खड्का

कर्णाली प्रदेशका मन्त्री भन्छन्, 'कर्मचारी अभावमा काम गर्न असहज’, कर्मचारी भने घाम तापेर कटाउँछन् दिन

सुर्खेत: कर्णाली प्रदेश सरकारले कर्मचारी अभावमा बजेट कार्यान्वयन गर्न नसकेको गुनासो गरिरहन्छन्। मुख्यमन्त्रीदेखि विषयगत मन्त्रीहरुले समेत कर्मचारी अभावमा मन्त्रालयको काम गर्न नसकेको गुनासो बारम्बार गरेका हुन्।

मन्त्रालयको कार्यक्रममा होस् या अन्य कुनै औपचारिक कार्यक्रममा, उनीहरुले केन्द्र सरकारले कर्मचारी नपठाउँदा काम गर्न नसकेको गुनासो गर्दै आएका छन्। अझै पनि कर्मचारीको आपूर्ति हेर्ने हो भने ५० प्रतिशत कर्मचारी अपुग देखिन्छ। तर, प्रदेशका विषयगत मन्त्रालयमा उपलब्ध कर्मचारी हिजोआज घाम तापेर दिन कटाउँछन्।

झट्ट हेर्दा विहान कार्यालयमा काम गर्न भन्दा पनि घाम ताप्नकै लागि आए जस्तो देखिन्छ। कर्णालीका अधिकांश मन्त्रालयका कर्मचारी प्राय मन्त्रालय परिसरमा घाम तापेर दिन कटाउने गर्छन्। प्राय सरकारी कार्यालयमा बिहानको समय कामको चाप थेग्न नसक्ने हुन्छ।

बुधवार बिहानको साढे ११ बजे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका अधिकांश कर्मचारी मन्त्रालयको अगाडि घाम ताप्न र मोबाइल चलाउन व्यस्त थिए। उनीहरु कार्यालयमा खासै काम नभएको भन्दै १०/१२ जना कर्मचारी घाम ताप्दै थिए भने कोही मोबाइलमा व्यस्त थिए।

मन्त्रालयको फाँटमा जाँदासमेत प्रायः कुनै फाँटमा कर्मचारी थिएनन्। मन्त्री नन्दसिं बुढा कामको सिलसिलामा बाहिर गएको त्यहाँका एक कर्मचारीले बताए। 'मन्त्रालयको सबै फाँट किन खाली?' भन्ने जिज्ञासामा नाम उल्लेख नगर्ने शर्तमा कार्यकक्षमा काम गरिरहेका एक कर्मचारीले भने,'अहिले बिहान जाडो हुन्छ। खासै काम पनि केही हुदैँन। सेवाग्राही आएर बोलाए आईहाल्नु हुन्छ।’

विषयगत मन्त्रालयमा कामका लागि आएका सेवाग्राहीसमेतले सास्ती पाउन थालेका छन्। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २/४ वटा फाँट बाहेक अधिकांश फाँट बन्द थिए। दुई चार जना कर्मचारी आफ्नो कार्यकक्षमा भएपनि अधिकांश फाँटमा ढोकाको बेलन लगाईएको थियो।

सुर्खेत वीरेन्द्रनगर घर भएका लक्ष्मण रासकोटी मन्त्रालयको तल माथि गर्दै थिए। उनले आफुले खोजेको कर्मचारी नभेटाएर कहिले मन्त्रालयको वल्लो भवन त कहिले पल्लो भवन धाउँदै थिए।   

हातमा भएको कागज देखाउँदै भने,‘यो बुझाउनु पर्ने थियो। कर्मचारी नै भेटिदैनन्, कहाँ जानु भएछ।’ फेरि थपे,‘यो कागज कहाँ छोड्ने होला?’ उनले खोजेको फाँट बेलन लगाईएको थियो मन्त्रालयमा।

यी घटना प्रतिनिधिमुलुक मात्रै हुन्। हिजोआज प्रायः मन्त्रालयमा न भनेको समयमा कर्मचारी भेटीन्छन् न कार्यकक्षमानै बस्छन्। 

यता, भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले अझै कर्मचारी अभावले काम गर्न नसकिएको बताउँछन्। मन्त्रालयमा आवश्यक विभागिय कर्मचारी अभावै रहेको बताए। ‘कर्मचारी त हुनुहुन्छ। तर, टेक्निकल पाटो हेर्ने विभागिय कर्मचारी अझै अभाव छ।’ उनले भने,‘सबै कर्मचारी भए बजेट कार्यान्वयनमा सहज हुन्छ।’ चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सकस भएको उनको भनाई छ। यद्यपि बजेट कार्यान्वयन गर्न नसके पनि प्रदेश सरकारकै खातामा रहने उनले बताए। 

 

सरकारको डिजिटल प्रविधि प्रयोगविहिन

कर्णालीलाई डिजिटलमैत्री प्रदेश बनाउने भन्दै विभिन्न खालका प्रविधि भित्र्याउन थाले पनि प्रयोगमा ल्याउन सकेको छैन। भर्खरै मात्रै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा डिजिटल नागरिक बडापत्र कार्यालयको भित्तामै झुण्डियाईएको छ। तर, त्यो नागरिक बडापत्र प्रयोग विहिन छ। मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत वर्ष नै जोडिएको उक्त प्रविधि अझै प्रयोगमा आउन सकेको छैन।

‘अझै प्रयोग भएको छैन,’ उनले भने,‘के–के विषयहरु राख्ने, कसले जिम्मा लिने भन्ने टुंगो लागेको छैन। त्यसैले प्रयोगमा आउन नसकेको हो।’ फेरि थपे,‘अब छिट्टै सञ्चालनमा आउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell