
सुनसरी : विभागीय टोली त्रिभुवन आर्मी लगातार दोस्रो जित हात पार्दै सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
कप्तान विनोद भण्डारी र भिम शार्कीको शानदार ब्याटिङ अनी युवा बलर कशुल मल्ल र शाहब आलमको ड्ढारिलो बलिङ मद्दतमा बर्मीले कर्णाली प्रदेशलाई २४९ रनले पराजित गरेको हो। आर्मीले समूह बी को पहिलो खेलमा प्रदेश ३ लाई पराजित गरेको थियो।
आर्मीलाई दोस्रो खेल जिताउन कप्तान विनोदले शतक प्रहार गरे। यस्तै भिम शार्कीले ९६ रन बनाए। बलिङमा कुशल मल्लले ४ तथा शाहब आलमले ३ विकेट लिए।
इनरुवा क्रिकेट मैदानमा टस पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाएर ३१४ रन बनाएको थियो। ३१५ रनको उच्च लक्ष्य पछ्याएको कर्णाली प्रदेश ६५ रनमै अलआउट भयो।
आर्मीका कप्तान विनोदले ६५ बल खेल्दै १३ चौका र ३ छक्का प्रहार गर्दै १०३ रन बनाए। यस्तै शतक बनाउन ४ रनले चुकेका भिम शार्कीले ११० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे। कर्णाली प्रदेशका युवराज केसीले ३ विकेट लिए।
उच्च लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशका लागि ओपनर निशान महतले सर्वाधिक २७ रन, टेक सलामीले १६ र प्रकाश जैलीले १० रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन्। कर्णालीलाई कम स्कोरमा अलआउट गर्न आर्मीका युवा बलर कुशल मल्लले ८.५ ओभरमा २ मेडन राख्दै १६ रन खर्चेर ४ विकेट लिए। शाहब आलमले ४ ओभरमा १ मेडन राख्दै मात्र ८ रन दिएर ३ विकेट लिए।
शतक बनाएका आर्मीका कप्तान विनोद खेलको प्लेयर अफ द म्याच घोषित भए।